प्रस, सेढवा, २८ पुस/
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रका खोलाबाट नदीजन्य पदार्थको उत्खनन गरी अवैध ढुवानी भइरहेको समाचार छ।
निकुञ्ज कर्मचारी तथा वनकर्मीहरूको मिलेमतोमा मध्यवर्ती क्षेत्रका खोलाबाट नदीजन्य पदार्थको उत्खनन गरेर अवैध ढुवानी भइरहेको स्रोतले जनाएको छ।
सुनाखरी वन समितिका अध्यक्ष देवीप्रसाद दाहालको सिफारिश तथा पर्सा राष्ट्रिय निकुञ्जको शाखा कार्यालय गडुवा पोस्टले काटेको पुर्जीबाट ओरिया खोलाबाट बालुवा, गिट्टी उत्खखन गरी सम्बन्धित क्षेत्रभन्दा बाहिर ढुवानी गर्ने काम भइरहेको स्थानीयले गुनासो गरेका छन्।
मध्यवर्ती क्षेत्रका खोलाबाट घरायसी प्रयोजनको लागि समितिको सिफारिशमा बालुवा, गिट्टी ल्याउन अनुमति दिए पनि सोविपरीत जीराभवानी गाउँपालिका–१ महादेवपट्टि तथा वडा नं २ सेढवा र दक्षिणी क्षेत्रमा पु–याउने गरेको स्थानीयले बताए।
यसको ज्वलन्त प्रमाण महादेवपट्टिको विनटोली र पकडीटोलामा सो स्थानबाट नदीजन्य पदार्थ ल्याएर गरिएको भण्डारणलाई लिन सकिन्छ। घरायसी प्रयोगका लागि तोकिएको क्षेत्रमा मात्र मध्यवर्ती क्षेत्रका खोलाहरूको बालुवा, गिट्टी प्रयोग गर्न सकिन्छ।
त्यसबाहेकको क्षेत्रमा लाने अधिकार छैन। तर वन समितिका अध्यक्ष तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको मिलेमतोमा अहिले दैनिक एक दर्जनभन्दा बढी ट्याक्टरबाट बालुवा, गिट्टी बाहिर लाने काम भइरहेको छ। यस सम्बन्धमा सुनाखरी वन समितिका अध्यक्ष देवीप्रसाद दाहालले बालुवा, गिट्टी सम्बन्धित क्षेत्रभन्दा बाहिर तस्करी भएको गुनासो आएको स्वीकारे। सिफारिश आफैंले दिएको तथा निगरानी पनि भइरहेको अवस्थामा कसरी बाहिर गइरहेको छ भनेर आश्चर्य व्यक्त गरे। उनले बाहिर गएको घटनालाई आफूले बुझ्नै नसकेको प्रतिक्रिया दिए।
पर्सा राष्ट्रिय निकुञ्जका सहायक वन अधिकृत सूर्य खड्काले खोला जङ्गलभन्दा बाहिर भएको र जनशक्ति थोरै भएकोले नियन्त्रण हुन नसकेको बताए। उनले सेनाले भ्याएसम्म गस्ती गरेको तर कुन बेला बालुवा, गिट्टी बाहिर जान्छ र त्यसरी लैजानेहरूलाई अहिलेसम्म पक्राउ गर्न नसकेको स्वीकारे। उनले यस्ता गलत गतिविधिमा संलग्न ट्याक्टरलाई सेनाले एक साता निकुञ्जमा राखी रु पाँच हजार जरिवाना गर्न सक्ने अधिकार भएको बताए।
जङ्गलभित्र मध्यवर्ती क्षेत्रको खोलाको यो अवस्था छ भने सो बाहिर जीराभवानी र पटेर्वासुगौली गापाको साँधमा रहेको भलुवाही खोलाको टेन्डर नभएको अवस्थामा पनि नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। हरैया, शङ्करसरैयाका तस्करहरूले स्थानीय सुरक्षाकर्मीहरूलाई प्रलोभनमा पारेर सो खोलाबाट दैनिक उत्खनन गर्दै आएका छन्। स्थानीयले खोलामा ट्याक्टरहरू एकाबिहानैदेखि जाने अनि गिट्टी, बालुवा लोड गरे आउने गरेको बताए। सो रूटमा पर्ने सुरक्षाकर्मीहरू तस्करको प्रभावमा परेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here