प्रस, वीरगंज, २७ पुस/
पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती वीरगंजमा मनाइएको छ। राजभक्त, देशभक्त समूह पर्साको आयोजनामा महावीर मन्दिरमा आयोजित कार्यक्रममा राजावादीहरू पशुपति विक्रम शाह, उषा शाह, राजकिशोर चौबे, शम्भु चौरसिया, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम समूहका अध्यक्ष दिपेन्द्र रौनियारको अध्यक्षतामा भएको थियो।
यसैगरी, राष्ट्रिय सरोकार मञ्चले घण्टाघरमा शाहको जन्मजयन्ती मनाएको थियो। वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपालीहरूको बुबा भएको बताइन्।
उनले शाहलाई कहिले बिर्सने नसक्ने हस्ती भएको चर्चा गर्दै सरकारले आजको दिन बिदा नदिनु आपत्तिजनक भएको बताइन्।
जन्मजयन्तीको अवसरमा आज ४५ जना महिलालाई साडी वितरण गरिएको थियो।
संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति विक्रम शाह, डा दीपक शाक्य, उषा शाह, पत्रकार महेशचन्द्र गौतम, सुदर्शनराज पाण्डे, युवराज खड्का, अधिवक्ता हरिहर शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण सूर्य विकले गरेको प्रेस संयोजक प्रणय कुमारले जानकारी गराएका छन्।
प्रस, सिम्रौनगढ/
सिम्रौनगढमा २९९औं पृथ्वीजयन्ती मनाइएको छ। राष्ट्रवादी समूह सिम्रौनगढका अध्यक्ष शिवशङ्कर ठाकुरको अध्यक्षतामा पूर्वराजा शाहको तस्वीरमा फूलमाला अर्पण गरिएको थियो। कार्यक्रममा पूर्वराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बारेमा सहभागी वक्ताहरूले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।
समूहका उपाध्यक्ष प्रेम साह कानू, मुनिफ अन्सारी, उमेश पण्डित, जानकीदेवी, झकड साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, रौतहट/
राष्ट्रवादी समूह, विश्व हिन्दू सङ्घ, देशभक्त समूहको संयुक्त आयोजनामा रौतहटको गौरमा पृथ्वी जयन्ती भव्य रूपमा मनाइएको छ।
राजा ल्याऊ, देश बचाऊ, हामो राजा हाम्रFे देश प्राणभन्दा प्यारो छ नारा लगाएर राजावादीहरूले नगरपरिक्रमा गरेका थिए। नगरपरिक्रमापछि विपी चोकमा गरिएको कोणसभामा सत्येन्द्र सिंह, वीरेन्द्र गिरी, अशोक सिंह, सुरेश जैसवाललगायतले पृथ्वीनारायण शाहको जीवनीबारे चर्चा गरे।
प्रस, निजगढ/
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शुभजन्मोसत्व निजगढमा मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्यसमितिको आयोजनामा राजमार्गको शहीद चोकबाट निस्किएको –याली बुद्धचोक हुँदै पुनः शहीद चोकमा पुगी सभामा परिणत भएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य मोहन यादव रहेका थिए। लोकतन्त्र, सङ्घीय गणतन्त्रमा दलहरूले राजा र राजसंस्थाप्रति जति नकारात्मक भ्रमहरू छरे पनि यर्थात कुरा जहिले पनि घाम जस्तै छर्लङ्ग हुने भन्दै राजतन्त्रविना मुलुकका शान्ति, सुरक्षा, अमनचयनसँगै विकास नहुने प्रमुख अतिथि यादवले भने। राजाहरूको योगदान, त्यागबाट नै राष्ट्र स्वाभिमान रहेको स्मरण गराउँदै राजसंस्था पुनस्र्थापना, हिन्दू राज्य कायम हुनुपर्ने राप्रपाको प्रमुख एजेन्डा रहँदै आएको उनले बताए। “नेपाल राष्ट्र सम्झने बिक्तिकै जो कोही नेपालीहरूको मनमस्तिष्कमा राष्ट्रनिर्माता बडामहाराज उनै पृथ्वीनारायण शाहको योगदान झलझली सम्झना आउनेछ,” उनले भने। त्यसैगरी, कार्यक्रमका विशिष्ठ अतिथि एवं राप्रपा केन्द्रीय कार्यसम्पादन सदस्य विनोद भारतीले उनै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरण गरी जोगाएको नेपाललाई अहिलेका विभिन्न दलले पटक—पटक भजाएर खाइरहेको आरोप लगाए। देश, राष्ट्रलाई शिरमा राखेर राजनीति गर्नुपर्नेमा पद, पार्टी र आसेपासेलाई अघि राख्दा दलहरूको अर्कमण्यका कारण मुलुक दिनानुदिन दलदलमा भाँसिदै गइरहेको उनको भनाइ थियो। कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य गिरीधारी चौधरी, सावित्री भारती, शिवप्रसाद तिमल्सिना, राप्रपा बारा कार्यसमिति अध्यक्ष राजनारायण साह, राप्रपा बारा अध्यक्ष भरत मल्ल, वासुदेव तिमिल्सनालगायतले बोलेका थिए। स्वागत राजेन्द्र सापकोटाले गरेको सो कार्यक्रमको अध्यक्षता राप्रपा निजगढ कार्यसमिति अध्यक्ष खड्गराज उप्रेती र सञ्चालन सुजन तिमिल्सनाले गरेका थिए। सो कार्यक्रममा दुई सयभन्दा बढीको सहभागिता थियो।