प्रस, निजगढ, २६ पुस/
इलाका प्रहरी कार्यालय, निजगढले शुक्रवार राति करीब ९ः१५ बजे १०२ किलोग्राम गाँजा, १ थान भरूवा बन्दुक सहित तस्करीमा संलग्न एकजनालाई नियन्त्रणमा लिन सफल भएको छ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ का ४७ वर्षीय इमानसिंह तामाङ रहेका छन्।
इलाका प्रहरी कार्यालय, निजगढका प्रमुख एवं प्रहरी निरीक्षक विकास थपलियाको कमान्डमा खटेको टोलीले हतियारसहित तस्कर आइरहेको सूचना पाएसँगै ५ राउन्ड फायर गरी गाँजा, बन्दुक र तस्करलाई पक्राउ गर्न सफल भएको हो। मकवानपुरबाट बारा निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको गौडा कुरेर बसेका प्रहरीलाई ८/१० जनाको हतियारसहित तस्कर समूहले देखेसँगै तस्कर समूहले पहिले फायर खोलेको र प्रहरीले जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
पक्राउ पर्ने भरिया र मुख्य कारोबारी मकवानपुरका रहेको आशङ्का गरिएको छ। चुरे पहाडको बारा, मकवानपुरको विभिन्न स्थानमा लगाइएको गाँजा भारतमा बिक्री गरिने भएकोपले बाराको रतनपुरी, भरतगंजसिगौल, अमलेखगंज लगायत नाका, गौंडाबाट वर्षौंदेखि गाँजा ओसारपसार हुनेरहेको घटनाक्रमले पुष्टि गर्दै आएको छ।
निजगढ नगरपालिका अन्तर्गत रतनपुरी, कुलिया, भक्तलाल, डमरपुर लगायत चुरे पहाडस्थित सीमामा पर्ने मकवानपुरको गडवान, पानीसारा, चिसापानी लगायत स्थानमा २५ बिघाभन्दा बढी क्षेत्रकोे गाँजा नष्ट गरेको बारा प्रहरीले जनाएको छ।
प्रहरीे गाँजा फाड्न आउने थाहा पाएपछ प्रहरीको काममा बाधा पु–याउने उद्देश्यले गाँजा खेती गर्नेहरूले रातभरि पानी पटाइदिंदा फडानी गर्न समस्या भएपनि अभियानकै रूपमा गाँजा खेती नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बारा प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले गाँजा खेती नष्ट गर्न अभियान नै चलाउँदै आएको बताएका छन्।