प्रस, ठोरी, २८ साउन/
ठोरी गाउँपालिका–३ मा कोरोना सङ्क्रमणबाट जोगिन निषेधाज्ञालाई पूर्ण पालना गर्दै वडास्तरमा पनि कडाइ गरिएको छ । वडापालिकामा बुधवार भएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पूर्ण पालना गर्दै यो अवधिमा वडामा पसल सञ्चालन, व्यवसाय, वित्तीय संस्था, मेला, जात्रा, खेलकूद, सभा–समारोह, भोजभतेर आदि भीडभाडजन्य कार्यमा बन्देज लगाएको वडाध्यक्ष सूर्यबहादुर लामाले बताए ।
निषेधाज्ञामा वडाबाहिरबाट मानिसहरूको आवतजावत बढेको भन्दै निषेधाज्ञामा वडामा कुनै पनि प्रकारको प्रवेशमा रोक लगाइएको छ । सोही वडाका मानिसहरू पनि बाहिरबाट यो अवधिमा अब वडा प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।
यसैगरी, पूर्वमा शिकारीवास खोलादेखि पश्चिममा ठुटेखोला क्षेत्रभित्र अत्यावश्यक काम परेका व्यक्ति, बिरामी, शव बोकेका व्यक्तिबाहेक कसैलाई पनि आवतजावत गर्न नदिने निर्णय भएको वडाध्यक्ष लामाले बताए ।
बैठकले निषेधाज्ञासँगै वडापालिकामा सर्वपक्षीय बैठकले गरेका निर्णयहरू पालना गर्न र यो अवधिमा कुनै पनि अवस्थामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।
सर्वपक्षीय वडा बैठकमा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, वडा सदस्यहरू, नेकपा नेता शम्भु खड्का, ललित बस्नेत, नीलप्रसाद पौडेल, निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, काङ्ग्रेसका नेताहरू रुद्रबहादुर खड्का, पन्नालाल विष्ट, प्रधानाध्यापकहरू भुपाल जोशी, सूर्यबहादुर खड्का, प्रहरी निरीक्षक अशोक साह, सशस्त्र प्रहरी निरीक्षक दीपक दाहाललगायतको सहभागिता थियो ।
यो वडामा जेठ १२ गते वडाध्यक्ष लामाको संयोजकत्वमा ११ सदस्यीय कोरोना रोकथाम र नियन्त्रण समन्वय समिति गठन भएको थियो ।