प्रस, परवानीपुर, २६ मङ्सिर/
वेस्ट इन्डिजका विश्व चर्चित क्रिकेट खेलाडी ब्रायन लारा नेपाल आउने भएका छन्। नेपाल प्रिमियर लिग हेर्न र नेपालको भ्रमण अवलोकनका लागि उनी डिसेम्बरको तेस्रो साता नेपाल आउन लागेका हुन्।
एनपिएल हेर्न क्यान नेपालले दिएको निम्तो स्वीकार्दै उनी सम्भवतः २१ डिसेम्बर नेपाल आउने सूचना पाएको क्यान नेपालका केन्द्रीय सदस्य एवं क्यान पर्साका अध्यक्ष्F मनीष सिंहले जानकारी गराए।
उनले एनपिएलको फाइनल खेल २१ डिसेम्बरमा हुने र लारा २० डिसेम्बरमा आएर २५ सम्म नेपाल रहेर क्रिसमस डे मनाइ स्वदेश फर्किने कार्यक्रम रहेको उनले बताए।
विश्वकै लेजेन्ड्री क्रिकेटरको रूपमा चिनिने लारा पहिलोपल्ट नेपाल आउन लागेका हुन्। यस अघि नेपाल टी–२० विश्वकपमा छनोट हुँदा सामाजिक सञ्जाल एक्सबाट नेपाललाई बधाई दिंदै नेपाल आउने इच्छा प्रकट गरेका थिए। लाराले वेस्ट इन्डिजको लागि १३१
टेस्टमा झन्डै १२ हजार रन बनाएका छन् भने २९९ एकदिवसीय खेल्दा १० हजारभन्दा बढी रन बनाएका छन्।
उनले वेस्ट इन्डिजको लागि सन् २००४ को च्याम्पियन ट्रफी जिताएका थिए। उनी क्रिकेटजगत्मा ‘द प्रिन्स’ उपनामले चिनिन्छन्।