प्रस, वीरगंज, २३ पुस/
नेकपा प्रचण्ड–नेपाल समूहको विद्यार्थी सङ्गठन र युवा सङ्गठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला दहन गरेका छन्।
वीरगंजको माईस्थानमा राष्ट्रपति भण्डारी र प्रम ओलीको पुतला दहन गरेका थिए। अनेरास्ववियु पर्साका संयोजक रामबाबू साहको नेतृत्वमा विद्यार्थीहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन्। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र राष्ट्रपति भण्डारीले त्यसलाई साथ दिएकाले विरोधस्वरूप पुतला जलाएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले बताए।
कार्यक्रममा नेकपाका नेता मनोज चौधरीले भण्डारी र ओली राजा बन्न खोजेको आरोप लगाए। केन्द्रीय कार्यक्रम अनुसार आज पुतला दहन गरिएको अर्का केन्द्रीय सदस्य शिवम साहले बताए। कार्यक्रममा युवा सङ्घका केन्द्रीय सदस्य अरुण यादव, नेता अरविन्द सिंह, अनेरास्ववियुका केन्द्रीय सदस्य जुबैर आलम, ठाराब क्याम्पस एकाइ संयोजक सन्दीप विक्रम शाहलगायत विद्यार्थीहरूको सहभागिता थियो।