प्रस, वीरगंज, २२ पुस/
उखुको मूल्य निर्धारणको लागि चिनीमिल सञ्चालक र किसानबीच पुस २१ गते मङ्गलवार जीतपुरसिमरा उपमहानगरपालिकामा भएको छलफल निष्कर्षविना टुङ्गिएको छ।
छलफलमा सहभागी उखु उत्पादक कृषक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले किसानलाई बाइपास गरेर सरकार र चिनीमिल सञ्चालकबीच भएको मूल्य निर्धारण आफूहरूलाई मान्य नभएको बताए। उनले किसानलाई बाइपास गरेर प्रतिक्विन्टल रु ५४४ मूल्य निर्धारण गरेकोमा आफूहरूलाई सो मान्य नभएको र प्रतिक्विन्टल रु ६१७ निर्धारण गर्नुपर्ने बताए।
अध्यक्ष मैनालीले मल, औषधिका साथै सिंचाइ व्यवस्थित गर्न बर्सेनि महँगो हुँदै गएको कारण उखुमा लागत बढेको र प्रतिक्विन्टल रु ६१७ मुनासिब हुने तर्क गरे। किसानले लगानी अनुसारको प्रतिफल नपाउने हो भने सोको अर्थ नरहने उनको भनाइ थियो। उनले किसानको प्रतिनिधिविना सरकारले चिनीमिल सञ्चालकसँग सहमति गर्नु कुनै पनि हालतमा मान्य नहुने बताए।
उखु किसान पृथ्वी साहले बक्यौता माग गर्ने क्रममा राजधानीमा मृत्यु भएका उखु किसान नारायणप्रसाद यादवको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखे। उनले सबै किसानको बक्यौता चिनीमिल सञ्चालकहरूले अविलम्ब भुक्तानी गर्नुपर्ने बताए। छलफलमा सहभागी चिनीमिल सञ्चालकहरूले भने सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ५४४ भन्दा बढी कुनै पनि हालतमा दिन नसक्ने बताएपछि बैठक विनानिष्कर्ष टुङ्गिएको हो।
चिनी उत्पादक सङ्घका महासचिव राजेश केडियाले तीनवटा चिनी उद्योगसँग मात्र बक्यौता बाँकी रहेको र उनीहरूविरुद्ध सरकारले कारबाई प्रक्रिया अगाडि बढाएपछि भुक्तानी प्रक्रिया पनि शुरू भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here