हरिया तरकारीको मूल्यवृद्धि रोकिएन, बेमौसमी तरकारीको मूल्यलाई मौसमी तरकारीले मात दियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

रामेश्वर मेहता, धर्मेन्द्र चौरसिया, १३ मङ्सिर/
यसपटक हरियो तरकारी महँगो हुने क्रम रोकिएको छैन । गत असोज ११–१२ गतेको अविरल वर्षापछि पर्सा र बारा क्षेत्रमा महँगो भएको हरिया तरकारीहरूको मूल्य डेढ साता अघि घटेको थियो । तर अहिले पुनः हरिया तरकारीहरूको मूल्य आकाशिएको छ । हरिया तरकारीरूको मूल्य निरन्तर बढेपछि तरकारीखेतीमा लागेका किसानहरू भने उत्साही भएका छन् । जाडोयाममा हरिया तरकारी सस्ता हुन्थ्ये । यो सिजनमा सबैखाले हरिया तरकारी उपलब्ध हुन्छन् । तर यही सिजनमा भने हरिया तरकारी सस्तो नभएपछि यो कर्ममा लागेका किसानहरू निकै खुशी देखिएका हुन् । विगत वर्षहरूमा हरिया तरकारी खेती गर्ने किसानहरूले काउली, बन्दाकोभी, गोलभेडा आदिबाट लागत पनि नउठेको भनेर सडकमा फालेर, खेतमा छरेर विरोध गर्नुपरेको थियो । तर यसपटक त्यो अवस्था छैन । हरिया तरकारीको मूल्य घट्नुको साटो बढिरहेको छ । हरिया तरकारी खेतीका लागि बाराको सिम्रौनगढ निकै प्रख्यात छ । त्यहाँ किसानहरू अहिले हरिया तरकारी खेतीबाट मनग्य आम्दानी भएकामा खुशी छन् । विगतमा यहाँका किसानहरूले सिजनमा हुने हरिया तरकारीबाट आम्दानी नभएपछि बेमौसमी तरकारीखेतीतर्फ आकर्षित भएका थिए । मौसमी र बेमौसमी तरकारीखेती गर्ने किसानहरूले मौसमी तरकारीबाट हुने घाटालाई बेमौसममा गरिने तरकारीखेतीबाट क्षतिपूर्ति गर्दै आएका थिए । तर यसपटक बेमौसमी तरकारीखेतीभन्दा मौसमी तरकारीखेतीबाट मनग्य आम्दानी भएको एकजना किसानले बताए ।

अहिले खुद्रामा काउली प्रतिकिलो रु १००, भन्टा, परवल, करैला, रामतोरिया रु १००, नयाँ आलु ८०, पुरानो आलु ६०, प्याज १२०, घ्यू सिमी १४०, हरियो कोसा २५०, सजीवन २००, हरियो खुर्सानी १३०, बन्दा र लौका ८०, गोलभेडा १२०, मूला ४० मा बिक्री भइरहेका छन् । तरकारीको खुद्रा मूल्य भन्दा १०–२० रुपैयाँ कममा गोलाबाट बिक्री भइरहेको छ । अहिले जाडोयाम भएकोले बजारमा विभिन्न किसिमका सागहरू देखा परेका छन् । रायो, गेनरी साग सबै सिजनमा पाउने भएपनि अहिले चम्सुर, पालक, मेथी, सुगुवा, बथुवालगायतका सागहरूले बजारको आकर्षण बढाएको छ । बेमौसममा १२ सय प्रतिकिलो पुग्ने धनियाको पात अहिले सय रुपैयाँमा फालाफाल भएको छ ।

बाराका सिम्रौनगढ, पचरौता नगरपालिका हरिया तरकारीहरूका लागि चर्चित स्थान हुन् । यहाँका हरिया तरकारी पर्सा, बारा, रौतहट, मकवानपुर, काठमाडौंसम्म निर्यात हुन्छन् । बाराको तुलनामा पर्सामा हरिया तरकारीखेती व्यावसायिकरूपमा फस्टाउन सकेको छैन । तर पनि यो खेतीबाट मनग्य आम्दानी देखेर पोखरिया, धोबिनी, छिपहरमाई, सखुवाप्रसौनी, जीराभवानी, पटेर्वासुगौली र महानगरका ग्रामीण क्षेत्रसँग जोडिएका वडाहरूमा हरिया तरकारीखेती हुँदै आएका छन् । पर्साका केही किसानहरूले पनि बेमौसमी तरकारीखेती शुरू गरेका छन् । शुरूमा बहुदरमाई नपा हरिया तरकारीखेतीका लागि चर्चित थियो भने अहिले अन्य पालिकाहरूमा पनि व्यावसायिकरूपमा हरिया तरकारीको खेतीमा किसानहरूले रुचि देखाउन थालेका छन् ।

पर्सा जिल्लामा ठोरी गाउँपालिकाका आठघरे, सुवर्णपुर बजारमा थोरै मात्रामा हरिया तरकारीहरू बिक्री गरिन्छ । जीराभवानी गापाका नौकाटोला, सेढवा, सखुवनिया, सुपौली, जगरनाथपुर गापाका जानकीटोला, मसिहानी, दसौता, छिपहरमाई गापाका भिस्वा, तुलसीबर्वा, सम्भौता र वीरगंज महानगरपालिकाका बिर्ता, माईस्थान, गीता मन्दिर, मुर्ली, नगवालगायतका क्ष्Fेत्रमा पनि यही मूल्यमा हरिया तरकारीहरू बिक्री गरिन्छ । अहिले यी बजारहरूमा हरिया तरकारी महँगोमा बिक्री भइरहेको छ ।

बोइलर कुखुराको मासुको मूल्य स्थीर बोइलर कुखुराको मासु पर्साका ग्रामीण क्षेत्रमा भन्दा महानगरमा सस्तोमा बिक्री भइरहेको छ । अहिले महानगरमा बोइलर कुखुरा प्रतिकिलो २५०–२८० सम्ममा बिक्री भइरहेको छ ।

वीरगंज महानगर–१५ नेशनल मेडिकल कलेज जाने बाटोमा बोइलर कुखुरा रु २५० प्रतिकिलोमा बिक्री भइरहेको छ भने मुर्ली, रानीघाट लगायतका क्षेत्रमा २६० प्रतिकिलोमा बिक्री भइरहेको छ । यही बोइलर कुखुरा पर्सा जिल्लाको पोखरिया नगरपालिका लगायत ग्रामीण क्षेत्रमा प्रतिकिलो रु ३०० मा बिक्री भइरहेको छ । चाडपर्वताका पनि बोइलर कुखुराको मासु बढेन भने अहिले प्रतिकिलो रु १०–२० को मात्र उतारचढाव भइरहेको छ । महानगरका विभिन्न स्थानमा सस्तो दर भएका पोस्टर टाँसेर अहिले बोइलर कुखुराको मासु बिक्री भइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।