प्रस, पोखरिया, २१ कात्तिक/
पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि छठघाट सजावटको प्रतिस्पर्धा बढेको छ । वीरगंज महानगर अन्तर्गत घडीअर्वा, स्वीमिङपुल, रानीघाट, मुर्ली, नगवामा सिसिटिभीसहितको निगरानीमा भव्य पण्डाल बनाएर छठपूजा हुँदै आएको भए पनि पछिल्लो समयमा पर्सा जिल्लाको विभिन्न पालिकाहरूमा गरिने छठघाटस्थलमा पण्डाल र बत्तीको सजावटमा प्रतिस्पर्धा बढिरहेको छ ।
पोखरिया नगरपालिकाको प्रायः सबै वडामा छठपूजा हुन्छ । छठपूजाको लागि छठघाट सजावट गर्ने काम अन्तिम चरणमा छ । नगरपालिकाले पूजास्थल सफा गर्नुका साथै सजावटमा सहयोग गर्दै आएको छ । यो पालिकाको सबैभन्दा भव्य सजावट वडा नं ४ पोखरियामा गरिएको छ । पोखरिया टोलमा रहेको पोखरीमा छठपूजा हुने र त्यहाँ पण्डाल, बत्तीलगायत सजावटको काम अन्तिम चरणमा छ । यसका साथै सुरक्ष्Fा व्यवस्थाको लागि इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी परिचालन गरिएको नगरप्रमुख प्रद्युम्न चौहानले बताए ।
छिपहरमाई गाउँपालिका–५ भिस्वामा पनि पोखरीको डिलमा भव्य सजावटको साथ छठपूजा हुने गर्छ । यस वर्ष पनि सो स्थानमा छठपूजाको लागि पण्डाल, बत्तीसहितको व्यवस्था गरिएको र सुरक्ष्Fासमेतको व्यवस्था गरिएको आयोजक कमिटीले जनाएको छ ।
धोबिनी गापा–४ लङ्गडीको हरिहरपुरमा पनि भव्य सजावट गरिएको छ । छठपूजा हुने सिक्टा नदी किनारमा पण्डाल, बत्तीसहितको छठघाट सजाइएको छ ।
ठोरी गापाको वडा नं १, २, ३, ५ मा त्यहाँ बसोवास गर्ने थारू र मधेसी समुदायका मानिसहरूले छठपूजा गर्दै आएका छन् । थोरै सङ्ख्यामा छठपूजा गरिने हुँदा पालिकामा छुट्टै बजेट माग नभएको र पूजा स्थलमा जेसिबी लगाएर सफाइ कार्य गरेको गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनले छठपूजा गर्ने सङ्ख्या वृद्धि हुन थालेकोले आगामी वर्ष छठको लागि पनि बजेट विनियोजन गरिने बताए । स्थानीय प्रमिला गुप्ताले वडा नं १ मा तीन–चारजनाले छठपूजा गर्दै आएको बताइन् ।