प्रस, वीरगंज, १९ कात्तिक/
खानेपानीमन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका–१६ स्थित नगवा पोखरीको अधूरो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सोमवार पोखरीको स्थलगत निरीक्षण गर्दै उनले सरसफाइ, सौन्दर्यीकरण र अधूरा संरचनाहरूको निर्माण कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगंज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न निर्देशन दिए ।
नगरप्रमुख राजेशमान सिंहले महानगरपालिकाले छठ पर्वका लागि आवश्यक सबै तयारीहरू गरेको बताए । उनले महापर्व छठ मधेस प्रदेशको धार्मिक र सांस्कृतिक धरोहर रहेको बताउँदै यसले धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भाव थप प्रगाढ बनाउने बताए ।
उनले नगवा पोखरीसँगै अन्य छठ घाटहरूको सरसफाइ, सुरक्षा र अन्य व्यवस्थापन कार्य समयमैं पूरा गर्न महानगरपालिकाको सक्रियता रहेको बताए ।
अनुगमनपछि जनता समाजवादी पार्टी वीरगंज महानगरपालिका वडा नम्बर २९ एकाइ कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदानमा बोल्दै मन्त्री यादवले चाडपर्वहरूले भाइचारा, सद्भाव र सामाजिक एकताको भावना बलियो बनाउने बताए । उनले चाडपर्व हाम्रो सांस्कृतिक परम्परा र आपसी सद्भावको प्रतीक रहेकोले यसले समुदायलाई एकजुट बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने बताए । कार्यक्रममा जसपाका नेता, कार्यकर्तालगायतको सहभागिता थियो ।