प्रस, सेढवा, १९ पुस/
कोरोना भाइरसका कारण चैतदेखि बन्द भएका विद्यालय खुल्ने क्रममा पर्सा जिल्लामा बाँकी रहेको एकमात्र जगरनाथपुर गाउँपालिकाले पनि आइतवारदेखि विद्यालय सञ्चालनमा ल्याएको छ।
१४ वटा पालिकामध्ये वीरगंज महानगरपालिकाले कक्षा ८ देखि १० सम्मको अध्ययन–अध्यापन सुरुआत गरेको थियो। त्यसलगत्तै अन्य पालिकाले पनि सोहीअनुरूप विद्यालयहरू सञ्चालनमा ल्याएका थिए। अहिले वीरगंज महानगरपालिकासमेत १३ वटा पालिकामा बाल विकास कक्षादेखि १२ सम्मको अध्ययन–अध्यापन भइरहेको छ। विद्यालय सञ्चालन हुन बाँकी जगरनाथपुर गापामा पनि आजदेखि विद्यालय सञ्चालनमा आएको छ। यो पालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेकोमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्दा विद्यालय सञ्चालन हुन सकेको भन्दै शिक्षकहरूले आपत्ति व्यक्त गरेका थिए।
यसअघि क्वारेन्टाइन बनेका विद्यालयहरू विसङ्क्रमण गर्ने कार्य मात्र भएको तर साबुन–पानी, मास्कलगायतका व्यवस्था नगरिएकोले शिक्षकहरूले चिन्ता व्यक्त गरेका छन्। गापाको शिक्षा शाखा संयोजक नरेश महतोले विसङ्क्रमण गर्ने काम सम्पन्न गरेर विद्यालय सञ्चालनमा आएको र मङ्गलवारदेखि सबै विद्यालयहरूमा साबुन–पानी र मास्कको व्यवस्थापन गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here