प्रस, वीरगंज, १८ पुस/
पर्साका स्थानीय तहहरूमा कार्यरत सूचना व्यवस्थापन प्रणाली (एमआइएस) अपरेटर तथा फिल्ड सहायकहरूको भेला शनिवार वीरगंजमा सम्पन्न भएको छ।
वीरगंजमा भएको भेलाले मनोजराउत थारूको अध्यक्षतामा १७ सदस्यीय एमआइएस अपरेटर तथा फिल्ड सहायक समिति गठन गरेको छ। समितिको उपाध्यक्ष अमृता साह, सचिव श्यामप्रसाद कुशवाहा, कोषाध्यक्ष जीतेन्द्र यादवलगायत सदस्यहरू चयन भएका छन्।
कालिकामाई गाउँपालिकाको सेवा एकाइमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकको म्याद सकेको एक महीना बितिसक्दा पनि हालसम्म म्याद थप नभएकोले ज्ञापनपत्रमार्फत बुझाउने निर्णय भएको नवगठित समितिका अध्यक्ष थारूले बताए।
गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले म्याद थप्न स्वीकृतसहितको निर्देशन दिए पनि गापाले म्याद थप्न नमानेकोले दबाबको लागि ज्ञापनपत्र बुझाइने उनले जानकारी गराए। उनका अनुसार विभागले पुस १२ गते च.नं. १३२१ को पत्रमार्फत गापाको पञ्जीकरण शाखामा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्वीकृतसहितको निर्देशन दिएको थियो। तर पुस १४ गते विभागको निर्देशनविपरीत दुईजना कर्मचारीको म्याद थप नगर्न कार्यपालिकाबाट निर्णय भएको गापा अध्यक्ष आफैंले पत्र लेखी जानकारी गराएका थिए।
राष्ट्रव्यापी खुल्ला प्रतियोगिताबाट सेवा करारमा नियुक्त भएका एमआइएस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको काम र प्रगति विवरण सन्तोषजनक नरहेको निर्णय भएकोले म्याद करार नवीकरण गर्न नसकिने लेखिए पनि गापाकै प्रशासन शाखाले मङ्सिर ८ गते कार्यसम्पादन सन्तोषजनक रहेको टिप्पणी आदेश दिएको थियो।
गाउँपालिका कर्मचारी स्रोतका अनुसार नियमविपरीतको पत्र प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले लेख्न नमानेपछि अध्यक्ष आफैंले पत्र लेखेका हुन्।
कालिकामाई गापाको गलत रवैयाले राष्ट्रव्यापी अभियानमैं असर पर्ने भएकोले पर्साका एमआइएस अपरेटर र फिल्ड सहायकहरू एकताबद्ध भएको नवगठित समितिका सचिव जीतेन्द्र यादवले बताए।