प्रस, सिम्रौनगढ, १४ भदौ/
बाराको प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित पलकियामाई भन्ने तलेजु भवानीको इतिहासविद्, पुरातत्वविद्हरूबाट अवलोकन गरिएको छ।
पुरातत्वविद् भरत साह नेतृत्वको पाँचजनाको टोलीले पलकियामाई स्थानको गहनरूपले अवलोकन गरी त्यहाँ उत्खनन नै नगरी पार्क र नयाँ भवन निर्माण हुन लागेकामा विरोध जनाएको छ।
पुरातत्व विभागले गत साउन ३० गते सो क्षेत्र संवेदनशील भएको र प्राचीन स्मारक संरक्षण ऐन २०१३ नियमावली २०४६ को मर्म र भावनाविपरीत निर्माण कार्य हुन गइरहेको भन्दै तत्काल रोक्न पत्राचार गरेको थियो। विभागले हाल निर्माण कार्य रोकी सो निर्माणको पूर्ण विवरण डिजाइन, खर्च लागत विभागबाट स्वीकृत गराएर मात्र काम गर्न निर्देशनात्मक पत्राचार गरिएको कारण काम रोकिएको थियो।
विभागले सो क्षेत्रको अध्ययन अवलोकनपश्चात् विज्ञको रायसुझावपछि उत्खननपश्चात् भौतिक संरचना निर्माण गर्न निर्देशन दिएको थियो। यसै विषयमा विभागबाट पुरातत्वविद् साहको नेतृत्वमा इतिहासविद् डिके सिंह, मानव अधिकारकर्मी रञ्जीत कुशवाहा, चन्दन सर्राफ र ममता शर्मासहितको टोली शुक्रवार सिम्रौनगढ क्षेत्रमा स्थलगत अवलोकन भ्रमणका लागि आएको थियो।