- डा शिवशङ्कर यादव
आज म धेरै नै जटिल विषयमा कलम चलाउन चाहन्छु। यसलाई कसैले वाहियात भन्न र कसैले बकवास भन्न सक्छ। तर यस विषयले गहकिलो बहसको माग गर्छ। स्वतन्त्रता चाहनेहरूलाई के थाहा छैन भने यस ब्रह्माण्डमा कोही र कुनै कुरा स्वतन्त्र छैन। न सूर्य, चन्द्रमा, न तारा, न आकाशगङ्गा, न अर्को कुनै कुरा। सबै बन्धनमा स्वतन्त्र छन्। यो बन्धनविना सबैको स्वतन्त्रता हराएर जान्छ। एउटा फल रूखबाट स्वतन्त्र हुन खोज्यो भने भुईंमा खस्छ र त्यस रूखको हिस्सा रहँदैन। पदार्थमा इलेक्ट्रोन, प्रोटोन मुक्त हुँदैन। परस्पर बाँधिएकै अवस्थामा रहँदा सुन्दर लाग्छ। स्वतन्त्र हुनेबित्तिकै पदार्थ नै रहँदैन, यस्तो विस्फोट हुन्छ कि सारा संसार खरानी हुन सक्छ। भेंडा बाख्रा पनि त भाले पोथी हुन्छन्। ती एकदम स्वच्छन्द हुन्छन्। सृष्टिको आरम्भदेखि जस्ताको त्यस्तै छन्। तिनको न कुनै समाज सम्बन्ध न कुनै नियम कानून नै हुन्छ। सुरक्षाको निम्ति मात्र सजातीय झुण्ड बनाउँछन्। त्यही झुण्डलाई हामी तिनको समाज भन्छौं। तिनलाई थाहा पनि छैन कि मान्छे त्यस झुण्डलाई तिनको समाज भन्छन्। गाईको पूजा गर्छौं, तर त्यही गाईले बाली च–याो भने कांजीहाउसमा थुनेर राख्छौं। उसलाई थाहै हुँदैन किन पूजा गर्छन् र किन कांजीहाउसमा थुन्छन् ? उसले बाली त भोजन भनेर खाएको थियो। सृष्टिको आरम्भदेखि नै त्यसमा कुनै परिवर्तन भएको छैन।
मानवमा भने परिवर्तनपछि परिवर्तन भएको छ। परिवर्तन मानिसले स्वयं ल्याएको हो अरू कुनै शक्तिले होइन, किनभने त्यही उसको जीवनको आवश्यकता थियो। मानिस पनि पहिले जनावर नै थियो। सुरक्षाको निम्ति मात्र उसको झुण्ड र समाज थियो। उसको दिमाग तर अन्य प्राणीभन्दा पृथक थियो। एउटा कुकुर र मानिसको बच्चा जन्मेदेखि नै भिन्नभिन्न हुन्छ। यही पृथकताले मानिस चुपचाप बस्न सकेन र आफ्नो बसाइँमा परिवर्तन गर्दै गयो र आजको स्थितिमा पुग्यो। उसले झुण्डबाट समाज बनायो, नियम र कानून बनायो तथा आफूलाई हर किसिमले व्यवस्थित ग–यो। नारी–पुरुषबीच विवाह बन्धन बनाइयो। यस बन्धनलाई शिखरसम्म पु–याएर त्यसैलाई मुक्तिको मार्ग बतायो। कसै कसैको भनाइ छ कि मानिस त्यही पहिलेको झुण्डमा फर्कनुपर्छ अन्यथा हत्या, बलात्कार आदिको घटना थामिने छैन। यसैलाई उनीहरूले स्वतन्त्रता भन्छन्। पश्चिमा देशहरू यसको चपेटमा परिसकेका छन र सम्पूर्ण कलहको सामना गरिरहेका छन्। हाम्रा मनिषीहरूले जुन आदर्श समाजको संरचना गरेर गए त्यो भत्किंदै छ। आजको युग नारीवादी युग हो। भर्खर मथुरावासी एक नेपाली युवतिले पशुपतिमा जुन प्रवचन दिएर गइन् त्यसमा उनी नेपाली हुनुको गर्व त गरियो तर नारीवादीहरू उनीप्रति आक्रामक बने। ती युवति शायद पति प्रताडित भएर मथुरा पुगी साध्वी बनेकी थिइन्। उनको मुखबाट पतिसेवा र आज्ञा पालनको वाणी निस्केको थियो। किन यस्तो भनिन् ? किनकि तपाईंले समाज चलाउनु छ गाई भैंसी बन्नु छैन। समाज चलाउनु छ भने उनको कथन सही छ। तपाईं पतिको ठाउँमा पत्नीको सेवा वा आज्ञाको पालन गर्नुस्। तर दुवैमा समर्पण नभई समाज चल्दैन। कसैकसैले भन्छन् कि पुरुषले दुईटा स्वास्नी राख्छन् भने स्वास्नीले पनि दुईटा पुरुष किन नराख्ने ? यो त त्यस्तै कुरा भयो कि पुरुषले बलात्कार गर्छ भने महिलाले पनि किन नगर्ने ? गर्ने, अवश्य गर्ने तर ख्याल रहोस् कि पुरुष बलात्कारीलाई समाजले बक्सेको छैन।
यो त त्यस्तै भनाइ भयो कि पुरुष यदि खाल्डोमा खस्छ भने महिला पनि खाल्डोमा किन नखस्ने ? भगवान्ले धेरै कृपा गरेका छन् कि नारीलाई खाल्डोमा खस्न दिएका छैनन्। यदि खस्ने नै अठोट गरेको हो भने कसको के लाग्छ ? रामले त पुरुषलाई पनि खाल्डोमा नखस्ने आदर्श दिएर गएका छन। तर पुरुष पतन नै रोज्छ। अब तपार्इं पनि रोज्नुस्। अनि यो संसार नर्क मात्र बन्नेछ। नारीले त्यो नर्क बन्नबाट रोकेकी छन्। अब नारीले नरोक्ने अठोट गर्छन् भने भगवान् पनि आफ्नो सृष्टि हेरेर रुनेछन्। नारीमाथि भगवान्ले कति महति जिम्मेवारी बक्सेका छन् भने नारीले नै बुझिरहेका छैनन् कि उनीहरूले कसरी संसार थामेका छन्। पुरुषले हाहाकार मचाएका छन्, नारी करुणामयी बनेर त्यो हलाहल पान गरिरहेका छन्। अब हलाहल पान नगर्नुस् पान र यसभन्दा पनि बढी अन्योलमा भौंतारिनुस्। याद राख्नुस् त्यसै अन्योनबाट निस्कने बाटो हाम्रा मनीषीहरूले बनाएका थिए। केही समय त्यही जनावरको स्थितिमा रहेपछि त्यही बाटोमा फर्किनेबाहेक अरू मार्ग छैन। आज पनि पश्चिमका समझदारहरू फर्किरहेका छन् ः कोही कृष्णभक्त बनेर, कोही ध्यान र योगमा लिप्त भएर। ओशोले ठीकै भनेका छन् कि भोगीहरूलाई नरोक। भोगको शिखरमा पुगेपछि त्यागबाहेक अरू बाटै छैन। भोगी असली त्यागी बन्छन्। तबसम्म धेरै सामाजिक दुर्घटना भइसकेको हुन्छ। त्यसैले बुद्धहरूले पहिले नै यस कुराको पहिचान गरेर होशपूर्वक त्याग गरे।
भनिन्छ कि मान्छेको जात पोलीगामी हुन्छ जुन वैज्ञानिक तथ्यले प्रमाणित कुरा हो। यसको अर्थ पुरुष एक महिलासँग र नारी एउटै पुरुषसँग सन्तुष्ट नहुने हो। दुवै यसै गुणले अवश भएर भिन्न–भिन्न पार्टनरको चाहना राख्छन्। कुनै पनि स्त्री यस भ्रममा नरहून् कि उनको चाहना हुँदैन। पत्नीको साधारण सइसप्रतिको चाहनाले भर्तृहरि वैरागी बनेका थिए। सम्राट् अशोककी बहिनी सङ्घमित्राको बिहे श्रीलङ्का र उताबाट तिष्यरक्षिताको बिहे सम्राट् अशोकसँग भएको थियो। सम्राट् अशोकलाई दुई देशको सम्बन्ध कसिलो बनाउन र बौद्धधर्मको प्रचार प्रसार गर्नु थियो। सङ्घमित्राले त बौद्धधर्मको राम्ररी प्रसार गरिन्। तरतिष्यरक्षिता युवराज कुणालप्रति आसक्त बनिन्। आमा भनेर कुणालले अस्वीकार गरे। यसरी वासनामा असफल भएपछि उनी घाइते बघिनी बनिन्। बात लगाएर कुणालको आँखा झिकी अन्धो बनाइन्, किनभने तिनै ठूल्ठूला आँखाको सौन्दर्यमा उनी मोहित भएकी थिइन्। अब सवाल यो उठ्छ कि यस चाहनालाई बेलगाम छाडी मानवतालाई अन्धो बनाउने कि त्यसमा लगाम लगाएर सम्पूर्ण समाजलाई बचाउने ? त्यसै लगामको नाम हो विवाह। विवाहले मात्र त्यसमा लगाम लगाई एक पुरुष वा स्त्रीमा स्थिर गर्छ। हाम्रा मनीषीहरूलाई राम्ररी थाहा थियो कि यौन–प्रबलता रोक्न सकिंदैन। लगाम लगाएर त्यसको प्रबलता कम मात्र पार्न सकिन्छ। नत्र जुन नारीलाई पूज्य देवी बनाए उसैसँग यौनक्रीडा गर्न सकिने किन बनाउँथे ? महिला एकै साथ देवी, आमा र यौनक्रीडाकी सङ्गिनी पनि हुन्। त्यस्तै पुरुष पुरुषोत्तम र बीजदाता पिता पनि हो।
यह प्रकृति मम महत माया, बीजदाता हुँ पिता मैं उसमें ः गीता
त्यसो नभए मानिस कुण्ठित भएर कुनै काम लायक रहँदैन। यौनमा पूर्ण रोक लगाइयो भने कुण्ठा जन्मन्छ। बाँध भत्काइयो भने बाढीको प्रकोप हुन्छ जसले सबै कुरा बगाएर लग्छ। पानी बढी भयो भने बाँध काटेर निकासको ठाउँ बनाइन्छ। यौनरूपी पानीलाई निकास दिने प्रक्रिया हो विवाह। नारीवादीहरूलाई त्यो स्वीकार छैन। उनीहरू बFँध नै भत्काउने अठोट लिएर बसेका छन्। एक त यसै जमाना बरालिएको छ। बाँध भत्कियो, बन्धन भत्कियो, विवाह भत्कियो भने के हुन्छ कल्पना पनि गर्न सकिंदैन। तब मानिस दुई कौडीको रहने छैन। अतः पशुपतिमा नेपाली साध्वीले जे भनिन् त्यो शतप्रतिशत सही छ। त्यसलाई उल्टोपुल्टो पारेर पुरुषको ठाउँमा स्त्री र स्त्रीको ठाउँमा पुरुष मात्र गर्न सकिन्छ। तर समर्पण हरेक स्थितिमा अनिवार्य छ। स्त्री हिंसा वा पुरुष हिंसा दुवै अपराध हो जसको लागि सजाय तोकिएको छ। त्यसै बहानामा यस महति उद्देश्य र आदर्शलाई छोड्न सकिंदैन।
संसारको दुई महाझूटमाथि सबै आँखा चिम्लेर विश्वास गर्छन् ः सम्पूर्ण क्रान्ति र स्वतन्त्रता। भारतका जयप्रकाश नारायण सम्पूर्ण क्रान्तिको नारा लिएर आए। इन्दिरा गाँधी गद्दीच्युत भइन्। के त्यही थियो सम्पूर्ण क्रान्ति ? थिएन, किनभने सम्पूर्ण क्रान्ति शब्द नै महाझूट हो जुन कहिल्यै आउनेवाला छैन। पश्चिमा र रूसोहरू सबैको घोषणा छ कि मानिस जन्मँदा स्वतन्त्र जन्मन्छ तर शनैःशनैः परतन्त्रताको बेडीमा कसिंदै जान्छ। यो पनि महाझूट हो। गर्भमा पनि बालक आमाको साथ बन्धनमा हुन्छ र जन्मेपछि दूधको बन्धनमा। त्यो बन्धन चुँडियो भने बालक मर्छ। हामीलाई राजनीति र समाजको बन्धनको बेडीले मात्र जकडेको छैन, प्रकृतिको बेडीले पनि जकडेको छ। स्वतन्त्र अस्तित्व कत्ति पनि छैन। अतः बन्धनलाई अनिवार्य आवश्यकताको रूपमा स्वीकार गरेर विवाह र पति पत्नीको न्यूनतम नियम पालना गर्नैपर्छ। त्यसको लागि जेजे गर्नुछ गर्नुपर्छ। स्वस्थ सोचले कुण्ठा जन्मदैन। कुण्ठा हुन्छ नकारात्मक र अस्वस्थ सोचले। अस्तु !