नरेश/प्रमोद यादव, १२ पुस/
पर्सा जिल्लामा अहिले अवैध घरेलु मदिरा उत्पादन तीव्र गतिमा भइरहेको छ। लकडाउन शुरू भएयता अवैध घरेलु मदिरा उत्पादनविरुद्ध अभियानमा प्रहरीले चासो देखाएको छैन।
पर्सा जिल्लामा सबैभन्दा बढी अवैध मदिराभट्टी पर्सागढी नगरपालिका–३ झबराहा, जीराभवानी गापा–५ शङ्करसरैया, हरैया, सखुवाप्रसौनी गापाको महुवन, धोबिनी गापाको आसवारी, पटेर्वासुगौली गापाको रङ्गपुर, पटेर्वाटोलमा अत्यधिक घरेलु मदिरा उत्पादन हुने गरेको छ।
यहाँ उत्पादित मदिरा वीरगंज महानगर, बाराको जीतपुर र छिमेकी भारतसम्म पुग्ने गरेको छ। खासगरी भारत, बिहारमा मदिरा निषेध भएको कारण अहिले पर्सा जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन बढेको छ। पर्सागढी नपा–३ झबराहामा मात्रै चार सय घरधुरीमध्ये तीन सय घरधुरीमा घरेलु मदिरा उत्पादन हुने गर्छ। तीन सयमध्ये सय घरधुरीले स्वप्रयोजनको लागि मदिरा उत्पादन गर्छन् भने दुई सय घरधुरीले व्यवसायको लागि मदिरा उत्पादन गर्दै आएका छन्।
लकडाउनअघिको ६ महीना र लकडाउनपछिको ९ महीनामा सो ठाउँमा घरेलु मदिरा उत्पादनविरुद्ध अभियान चालिएको छैन। इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा र त्यसअघिका दीपक चोरवारको कार्यकालमा अवैध मदिराविरुद्ध अभियान सञ्चालन भएन। अहिले प्रनि थापाले अवैध मदिरा उत्पादनविरुद्ध अभियान शुरू गर्ने आश्वासन दिएका छन्। उनले विभिन्न कारणले गर्दा अभियान नचलेको स्वीकारे।
पर्सा जिल्लाको वीरगंज महानगर–३१ बसडिलवा, ३२ बेलवा, पटेर्वासुगौली गापा–२ बैधनाथपुर, थरघट्टी, चापी, बङ्कुल, बेलवा, वडा नं. ५ को पटेर्वा, भतौडा, निचुटा, मोरटोल, जीराभवानी गापा–५ हरैया, वडा नं १ को महादेवपट्टि, वडा नं ३ को पाँडेपुर, धोबिनी गापाको आसवारी, बहुदरमाई नगरपालिकाको डोकैला बहुअरी, गम्हरिया, पोखरिया नगरपालिका र ठोरी गापामा पनि ठूलो परिमाणमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको छ।
जीराभवानी गापाको शङ्करसरैयामा मेशिनबाट अवैध घरेलु मदिरा उत्पादन हुने गर्छ। केही वर्षअघि सो ठाउँमा छापा मार्दा मेशिनबाट घरेलु मदिरा उत्पादनको घटना सार्वजनिक भएको थियो। प्रहरीले घरेलु मदिरा उत्पादनविरुद्ध अभियान सञ्चालन नगर्दा घरेलु मदिरा उत्पादन गर्ने क्रम बढेको छ। घरेलु मदिरा साइकल, मोटरसाइकल, यात्रीवाहक बस र बालुवा, गिट्टी ढुवानी गर्ने ट्याक्टर आदिमा राखेर गन्तव्यसम्म पु–याइन्छ।