प्रस, परवानीपुर, १२ पुस/
नेपाल बार एशोसिएशन पर्सा एकाइको निर्वाचन पुस १८ गते हुने भएको छ। सोको लागि आइतवार उम्मेदवारहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष पदका लागि ओमप्रकाश गुप्ता, कमलमोहन पोखरेल, उपाध्यक्षमा अनिरुद्धप्रसाद सिंह, प्रेमकुमार साह, अजयकुमार श्रीवास्तव, सचिवमा राकेश मल्लिक, रामबलिप्रसाद चौहानले उम्मेदवारी दर्ता गराएका छन् भने सहसचिवमा प्रतिमाकुमारी चौरसियाले मात्रै उम्मेदवारी दिएपछि उनी निर्विरोध चयन भएकी छन्। कोषाध्यक्षमा नजमुद्दीनराउत गद्दी र सुनीलकुमार यादव तथा १२ जना सदस्य पदको लागि १४ जनाको उम्मेदवारी परेको छ। श्रीरामप्रसाद रौनियार, हरिनारायण कुशवाहा, दिनानाथ प्रसाद, रामनाथ महतो, अञ्जनीकुमार नवीन, श्रीरामराउत कुर्मी, नीरज गुप्ता, जवाहरलाल कलवार, मन्सुरूलहक सिद्धिकी, अञ्जनकुमार अधिकारी, विनोदकुमार दास, हीरा ठाकुर, अजय स्वर्णकार, जुली कर्णलगायतले सदस्य पदमा उम्मेदवारी दिएका छन्।
त्यसैगरी, पार्षद् सात पदका लागि ७ जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत जीतेन्द्रप्रसाद कुर्मीले जानकारी दिए। सोमवार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने सक्ने कार्यक्रम तय भएको र ४ बजेपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने उनले बताए। पुस १८ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्म मतदान हुने र निर्वाचित पदाधिकारीहरूले दुई वर्षे कार्यकालको लागि बारको नेतृत्व गर्ने जनाइएको छ। पर्सा बारमा ११६ जना अधिवक्ता सदस्य छन्।