राधेश्याम पटेल, वीरगंज, १० पुस/
कोरोना महामारीको कारण अर्थतन्त्र प्रभावित भइरहँदा पनि गत आर्थिक वर्षभन्दा चालू आवमा वीरगंज नाकाबाट भित्रिने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
गत आवको १२ महीनामा १ लाख ५२ हजार १ सय ७२ वटा मालवाहक तथा नयाँ सवारीसाधन भित्रिएका थिए भने चालू आवको पछिल्लो ५ महीना अर्थात् साउनदेखि मङ्सिरसम्ममा ८२ हजार ५९ वटा गाडी भित्रिएका छन् ।
वीरगंज–१७ अलौंमा सञ्चालित एकीकृत जाँच चौकी(आइसिपी) सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाका प्रमुख कमल ज्ञवालीका अनुसार गत आवभन्दा चालू आवमा मालवस्तुको आयात पनि वृद्धि भएकोले सवारीसाधन भित्रिने सङ्ख्यामा वृद्धि भएको बताए । उनले यस वर्षको १२ महीनामा गत आवको तुलनामा १० हजारभन्दा बढी गाडी भित्रिने विश्लेषण छ ।
गत आवमा एलपी ग्यासको १४ हजार ३ सय ९५ वटा, पेट्रोलको ९ हजार ३ सय २, डिजेलको ३ हजार ३ सय ५० र १ लाख २४ हजार ५ सय २५ वटा अन्य किसिमका गाडी भित्रिएका थिए । गत वर्ष १ लाख ३५ हजार १७ वटा गाडी भारतबाट आइसिपीको बाटो भएर आएको थियो भने १७ हजार १ सय ५५ वटा गाडी नेपालबाट भारततर्पm प्रस्थान गरेको थियो ।
गत वर्ष नेपाल इन्टरमोडेलले २० करोड ८९ लाख २४ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवमा कोरोनाको कारण केही राजस्व छुट दिइएकोले राजस्व सङ्कलन कम भएको बताए । उनले कोरोना महामारीको कारण गत चैत २८ देखि जेठ ५ गतेसम्म १ करोड ४८ लाख ६१ हजार रूपैयाँ व्यवसायीलाई छुट दिइएको थियो । चालू आवको पछिल्लो ५ महीनामा १४ करोड ५१ लाख १४ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि मङ्सिरसम्म ८२ हजार ५९ गाडीमा ७४ हजार ५ सय ७६ वटा गाडीबाट आयात भएको थियो भने ७ हजार ४ सय ८३ वटा गाडीबाट भारततर्पm मालवस्तु निर्यात भएको थियो ।
चालू आवको पछिल्लो ५ महीनामा ५ हजार ८ सय ४ वटा एलपी ग्यास बुलेट, ४ हजार १ सय ९३ वटा पेट्रोल ट्याङ्कर, मटीतेलको १ सय ९९ वटा तथा ६४ हजार ३ सय ७८ वटा अन्य किसिमका सवारीसाधन भित्रिएको नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाका प्रमुख ज्ञवालीले स्पष्ट पारे ।