राधेश्याम पटेल, परवानीपुर, ९ पुस/
गत वर्ष भदौ २० गते वीरगंजमा मुस्कान खातुनमाथि तेजाब प्रहार भएको घटनाको सम्बन्धमा पर्सा जिल्ला अदालतमा कारबाई अगाडि बढेको छ। कोरोना महामारीले गर्दा अदालत बन्द भएपछि केही महीना मुद्दाको प्रक्रिया लम्बिएको थियो।
बिहीवार मुस्कान खातुनको मुद्दामा उनको बकपत्र सकिएको जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साका सहन्यायाधिवक्ता दीपेशप्रसाद साहले जानकारी गराए। “आज मुस्कान खातुनको बकपत्र सकिएको छ। जाहेरकर्ता मुस्कानका काका, घटना विवरणको कागज गर्ने दुईजना र प्रतिवादीतर्फका २ जना साक्षी गरी थप ५ जनाको बकपत्र सकिएपछि अन्तिम सुनवाइ हुनेछ,” उनले भने।
सहन्यायाधिवक्ता साहका अनुसार बकपत्रमा मुस्कान खातुनले प्रतिवादीहरूले दिएको पानीको बोतलभित्र रहेको तेजाब खान अस्वीकार गरेपछि उनीहरूले अनुहारमा तेजाब खन्याएर फरार भएको बयान दिएकी छन्। बयानको क्रममा मुस्कानले भनेकी छन्, “ती केटाहरू मलाई पहिले पनि जिस्काउँथे, बुबालाई मैले जानकारी गराएको थिएँ, बुबाले उनीहरूलाई सम्झाउनुभएको थियो, त्यसैको रिस साध्न उनीहरूले मलाई टार्गेट गरी तेजाब खुवाएर मार्ने पहिले षड्यन्त्र गरेका रहेछन्, पछि तेजाब खान अस्वीकार गरेपछि अनुहार र शरीरमा खन्याएर उनीहरू भागेका थिए।”
वीरगंज–१ छपकैया निवासी १५ वर्षे मुस्कान वीरगंजको कुम्हालटोलमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थिइन्। बिहान ८ बजे स्कूल गइरहेको बेला सीता हस्पिटलभन्दा पूर्वको गल्लीमा उनीमाथि तेजाब प्रहार भएको थियो। मुस्कानमाथि छपकैयाकै समसाद मियाँ र साजिद अन्सारी भन्ने दुईजना युवकले तेजाब प्रहार गरेका थिए। उनीहरू अहिले पुर्पक्षको लागि वीरगंज कारागारमा छन्। १६ देखि १८ वर्षसम्म उमेर भएका दुवैजना माथि ज्यान मार्ने उद्योग र तेजाब, रसायन तथा अन्य जैविक पदार्थ फालेर कुरूप गर्न नपाइने कसूरमा मुद्दा चलेको छ। दुई महीनाभित्र अन्तिम सुनवाइ हुने र दण्डसजाय हुने बताइएको छ।
मुस्कानको मुद्दा पर्साका मुख्य न्यायाधीश धर्मराज पौडेलको १ नम्बर इजलासमा परेको छ। ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र १ लाख जरिवाना तथा तेजाब हान्ने मुद्दामा ५ देखि ८ वर्ष कैद सजायको व्यवस्था छ। तर प्रतिवादीहरू नाबालिक भएकाले पूर्ण सजायभन्दा केही कम सजाय हुन सक्ने कानून व्यवसायीहरूको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here