प्रस, गरुडा, ८ पुस/
रौतहटका पालिकाहरू स्थानीयलाई निश्शुल्क बिजुली उपलब्ध गराउन होडबाजीमा लागेका देखिन्छन्। सर्वसाधारणलाई सुविधा दिएको देखाउन पालिकाको बजेटबाट बिजुली बिल भुक्तानीको प्रतिस्पर्धामा रौतहटका तीनवटा नगरपालिका सामेल भइसकेका छन्।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले कृषि उत्पादकत्व बढाउन र विपन्न समुदायलाई बिजुलीको पहुँचमा ल्याउन कृषि मिटरको सम्पूर्ण बिजुली बिल र बीस युनिटसम्म घरायसी बिजुली बिल तिर्ने निर्णय जिल्लामा सबैभन्दा पहिले गरेको थियो। फतुवा विजयपुर नपाले गत मङ्सिरसम्मको घोषणा अनुसारको सम्पूर्ण बिजुली बिल तिरिसकेको पनि सार्वजनिक गरेको छ।
रौतहटकै कटहरिया नगरपालिकाले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषिलाई निर्यातमुखी व्यावसायिक बनाउन सम्पूर्ण कृषि मिटरको बिजुली बिल भुक्तानी गर्ने निर्णय परिषद्बाट गरेको थियो। कृषिमा आधारित रहेका अधिकांश परिवारको विकास हुने विश्वास लिइएको नगरप्रमुख सियाराम कुशवाहा फिरोजको भनाइ छ। कृषि विकासको लागि कृषकलाई बिजुली, पानी र उन्नत बीउ नगरपालिकाले उपलब्ध गराउने र बजारीकरणको पनि व्यवस्था गरिदिने हो भने कृषिमार्फत किसानले फड्को मार्ने नगरप्रमुख कुशवाहाको भनाइ छ।
रौतहटको बौद्धीमाई नगरपालिकाले नगरका सम्पूर्ण नागरिकको बिजुलीको बिल नगरपालिकाले नै तिर्ने निर्णय गरेको छ। सम्पूर्ण नागरिकको सबै किसिमका बिजुलीको बिल तिर्ने निर्णय गर्ने बौद्धीमाई नगरपालिका जिल्लामा पहिलो स्थानीय तह भएको छ।
ढिलो भएको बौद्धीमाई नगरपालिकाको नगरसभाले नगरभित्र नागरिकले खर्च गर्ने सम्पूर्ण बिजुलीको बिल तिर्न पर्याप्त बजेटको व्यवस्था गरेको छ। यस वर्षदेखि आफू नगरप्रमुख रहुन्जेल नगरका कुनै पनि नागरिकले बिजुलीको बिल आफूले तिर्न नपर्ने बौद्धीमाई नगरपालिकाका नगरप्रमुख राजीवरञ्जन यादवले बताए।
आर्थिक समस्याका कारण बौद्धीमाई नगरपालिकाका कतिपय विपन्न समुदायले विगत चार वर्षदेखि बिजुली महसूल तिर्न नसकेको देखिएको थियो। गरीबहरूको पीडालाई महसूस गरेर परिषद्ले निर्णय गरेको नगरप्रमुख यादवको भनाइ छ। नगरका सबै नागरिकको बिजुली महसूल नगरपालिकाले तिर्ने भएपछि बिजुलीको चोरी पनि कम हुने स्थानीयको विश्वास रहेको छ।
रौतहटका विभिन्न पालिकाले बिजुली महसूल तिर्ने प्रतिस्पर्धा गरिरहँदा आगामी चुनावमा बिजुलीको बिल तिर्न अधिकांश उम्मेदवारले आफ्नो चुनावी नारा बनाउने र अहिले बिजुली महसूल तिर्ने निर्णय गरेका पालिकाका प्रमुखहरूले पनि थप प्रशंसा पाउने सम्भावना रहेको कटहरिया नगरपालिकाका बुद्धिजीवी अनिलकुमार निधिले बताए।
रौतहटका पालिकाहरूमा बिजुली महसूल तिर्ने प्रतिस्पर्धा सतहमा आएकोले नागरिकले स्थानीय सरकारबाट सुविधा पाउन थालेको अनुभूति भएको प्रतिक्रिया पनि आएको पाइएको छ। फतुवा विजयपुर नगरपालिकाका विजय यादवले स्थानीय सरकारले नागरिकलाई देखिने गरी सुविधा प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।