प्रस, निजगढ, ८ पुस/
पिकअप भ्यानमा सालको चिरान काठ चोरी तस्करी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको सशस्त्र वनरक्षक टोलीले चालकसहित मङ्गलवार राति भ्यान पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पिकअप चालक निजगढ नगरपालिका–५ का २७ वर्षीय धर्मराज चौलागाईं रहेका छन्।
बाराको निजगढ नगरपालिका भरतगंजसिंगौलबाट निजगढ राजमार्गतर्फ ना.५च १४८८ नम्बरको पिकअप भ्यानमा ८३ थान सालको चिरान काठ ल्याउँदै गर्दा सिंगौल गेटमा गएराति ८ः४५ बजे नियन्त्रणमा लिएको थियो।
सो भ्यानमा रहेका अर्का एक काठ तस्कर भने फरार रहेकाले उनको खोजी भइरहेको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए।
पक्राउ परेका चालकका अनुसार निजगढका विजय तिमल्सिनाले आफूलाई त्यस दिन पटक–पटक सम्पर्क गरी काठ लिन पठाएको बताएका छन्। भ्यानबाट फरार रहेका व्यक्ति पनि उनै तिमल्सिना रहेको स्रोतले बताएको छ।
नियन्त्रणमा लिएको सो चिरान काठ ६४.०४ क्यूफिट रहेको र हालको बजार मूल्य अनुसार ३ लाख रुपैयाँभन्दा बढीको रहेको वन कार्यालय बाराले जनाएको छ।
बारा र छिमेकी जिल्ला रौतहटको राष्ट्रिय वन क्षेत्रबाट हरियो रूख ढाल्दै चिरान गर्दै बिक्री गर्ने गिरोह यहाँ वर्षौंदेखि सक्रिय रहेको छ। तर गिरोहसम्म पुग्ने अनुसन्धान भने अहिलेसम्म नहुँदा काठ चोरी तस्करीमा कमी आएको छैन।