प्रस, वीरगंज, ७ पुस/
पर्सा जिल्लामा अहिले पनि ६ वटा पालिकाले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् भने ८ वटा पालिकाले सो भत्ता वितरण गर्न सकेका छैनन्।
प्रत्येक वर्ष पहिलो चौमासिकको अन्तिम महीना कात्तिकमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको थियो।
चाडपर्वलाई मध्यनजर गर्दै विगत वर्षहरूमा पहिलो चौमासिकको दशैंअगावै वा दशैंपछि भत्ता वितरण भएपनि अहिले चाडपर्वहरू बितेर दोस्रो चौमासिकको पहिलो महीना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन। वितरण नभएका पालिकाहरूमा एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गहरूले सामाजिक सुरक्षा भत्ताको माग गरिरहेका छन्। यसै क्रममा धोबिनी गाउँपालिकामा सोमवार उनीहरूले भत्ता माग गर्दै विरोध गरे। भत्ताका लागि चार/पाँच पटक गापाको कार्यालयमा धाउँदै आएको तर भत्ता दिनेतर्फ अग्रसरता नदेखाएको भन्दै उनीहरूले गापा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आक्रोश पोखेका थिए। जनप्रतिनिधिहरू करोड पर्ने सवारीसाधनमा चढ्ने तर सरकारले दिएको भत्ता समयमा वितरण गर्नेतर्फ जिम्मेवार नहुने भन्दै एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गहरूले जनप्रतिनिधिविरुद्ध आक्रोश पोखेका थिए। पर्सा जिल्लाका पटेर्वासुगौली र जगरनाथपुर गापा, पर्सागढी, बहुदरमाई र पोखरिया नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन्।
वीरगंज महानगरपालिकाले पुस मसान्तमा भत्ता वितरण गर्ने तयारी गरेको छ। वडा कार्यालयहरूबाट विवरण आउन ढिला भएकोले भत्ता वितरण गर्न नसकेको महानगरपालिकाले जनाएको छ।
विवरण प्राप्त हुनासाथ भत्ता वितरण गर्ने कार्यालयले जानकारी गराएको छ।
पोखरिया नगरपालिकाले मात्र पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता छठअघि वितरण गरेको थियो। अहिले दोस्रो चौमासिकको पहिलो महीना बितिसक्दा पनि भत्ता वितरण नहुँदा भत्ताको भरमा दैनिक जीवनयापन गर्नेहरूले आर्थिक समस्याको सामना गर्नुपरिरहेको बताएका छन्। सामाजिक सुरक्षा भत्ताका लागि कोलेनिकाबाट रकम निकासा भइसकेको छ। तर पनि वितरणमा पालिकाहरूले चासो नदेखाउँदा अहिले यो भत्ता माग गर्नेहरूको सङ्ख्या बढिरहेको हो।
ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर श्रेष्ठले बैंकिङ प्रणालीबाट भत्ता वितरण हुने हुँदा पहिलो चौमासिकको भत्ता वितरणमा ढिला भएको बताए। उनले खाता खोल्ने कार्य सम्पन्न भएको र सोको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै आगामी केही दिनमैं गापाले भत्ता बैंकमा जम्मा गर्ने र सरोकारवालाले निकाल्न सक्ने बताए।