प्रस, वीरगंज, ५ पुस/
प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेको विरोधमा नेकपाका नेता, कार्यकर्ताहरूले विरोध गरेका छन्।
कार्यक्रममा बोल्दै नेकपाका नेताहरूले प्रधानमन्त्री ओलीले चालेको कदम नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रम ओलीले चालेको कदम असंवैधानिक, अव्यावहारिक तथा पार्टीविरोधी भएको बताए।
कार्यक्रममा प्रधानमन्त्री मुर्दाबाद भन्दै चर्को नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीले केही नेतालाई पक्राउ गरी छाडेको थियो। कार्यक्रममा प्रमुख अतिथि दिनेश राईले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीमाथि बन्चरो हानेर अपाङ्ग बनाएको बताए। जनताले दिएको बहुमतको सरकार प्रधानमन्त्री ओलीलाई नपचेको बताए। उनले प्रधानमन्त्री बौलाएको आरोपसमेत लगाए।
जिल्ला सचिव विजय महतोको सभापतित्वमा भएको विरोध कार्यक्रममा प्रदेश सदस्य शम्भु गुप्ता, रामबाबू बैठा, छोटेलाल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मनोज चौधरीले गरेका थिए।
यसैगरी, राजपा पर्साका नेता, कार्यकर्ताहरूले वीरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। राजपाका वरिष्ठ नेता एवं पूर्वसांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै आफ्नो पार्टी सर्वोच्च अदालत जाने बताए। उनले देशलाई टाट पल्टाएर संविधानविपरीत काम गर्ने ओलीको कदम राष्ट्रघाती भएको भन्दै सर्वोच्च अदालत जाने बताए।
विरोध प्रदर्शनमा राजपाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो।
प्रस, बारा/
प्रधानमन्त्री केपीशर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता, कार्यकर्ताहरूले बाराको कलैयामा प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीको कदमको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
बाराको कलैयामा नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादवलगायत नेता, कार्यकर्ताहरूले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। ‘संसद् विघटन खारेज गर’, ‘असंवैधानिक कदम फिर्ता गर’ लगायतका नारा लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका थिए।
प्रस, सिम्रौनगढ/
सिम्रौनगढ नगरपालिकामा पनि प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भएको छ। नेकपा नगर कमिटीको आयोजनामा भएको प्रदर्शनमा नेकपा जिन्दाबाद, केपी ओली मुर्दाबाद, गणतन्त्र जिन्दाबादको नारा लगाइएको थियो। जुलुस नगरपरिक्रमा गरी पुलचोकमा कोणसभा भएको थियो।
नेकपा बाराका सदस्य महेन्द्रप्रसाद जैसवाल, भोजेन्द्रप्रसाद यादव, अनवर अन्सारी, नागेन्द्र महतो, ठाकुर साह, मदन ठाकुर, सुरेन्द्र यादव, रामदिनेश यादवलगायतले संसद् विघटन गरी मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्रीको कदमको विरोध गरे। कार्यक्रम नगर कमिटी अध्यक्ष श्यामकिशोर यादवको अध्यक्षतामा भएको थियो।
प्रस, रौतहट/
नेकपा रौतहटले गौर नगरपालिकाको विपी चोकमा विरोध प्रदर्शन गरेको छ। विभिन्न नारा लगाउँदै नेकपाका नेता, कार्यकर्ताहरूले नगरपरिक्रमा गरेका थिए।
विरोध कार्यक्रममा नेकपा रौतहटका अध्यक्ष कमल यादव, प्रदेश २ का सदस्य शम्भु साह, यमुनामाई गाउँपालिकाका वडाध्यक्ष नन्दलाल यादव, पूर्वअध्यक्ष विन्देश्वरराय यादवको सहभागिता थियो।