प्रस, पोखरिया, ५ पुस/
डोम समुदायमा अहिले पनि बालविवाह भइरहेकोमा सोको रोकथाम कहींकतैबाट गरिएको छैन।
पर्सा जिल्लामा अन्य समुदायको बालविवाह रोक्नको लागि प्रहरी, स्थानीय निकाय र अहिले गठित बाल क्लबले सक्रियता देखाए पनि डोम समुदायमा हुने बालविवाह रोक्नेतर्फ कुनै पनि निकाय, संस्था सक्रिय छैनन्।
जसले गर्दा यो समुदायमा अहिले पनि निर्धक्क बालविवाह हुने गरेको छ। कुनै बेला गर्भमैं रहेका बालबालिकाको विवाहको मिति तय गर्ने यो समुदायले अहिले आएर आठ–दश वर्षको उमेरमा विवाह गर्दै आएका छन्। डोम समुदायमा केटीहरूको सङ्ख्या थोरै भएकाले सानैमा विवाह हुने गरेको कालिकामाई गाउँपालिका, मुर्ली निवासी रमेश डोम बताउँछन्। दूधे बालकलाई आफ्नो समुदायमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
केटी नपाइने हुनाले बालिकालाई खरीद गरेर वैवाहिक कार्यक्रम गर्ने परम्परा अहिले पनि जारी रहेको उनले बताए। आफ्नो समुदायमा रक्सी, मासु खाएको बेलामा वैवाहिक कार्यक्रम तय हुने गरेको उनले बताए। मदिराभट्टीमा वैवाहिक कार्यक्रमको छिनोफानो हुन्छ र सोहीअनुरूप विवाह सम्पन्न हुने गरेको उनले बताए।
८–१० वर्षको उमेरमा वैवाहिक कार्यक्रम गर्दा केटीपक्षबाट दाइजो दिने कार्य आफ्नो समुदायमा पनि रहेको पोखरिया नगरपालिका–४ का महेन्द्र डोम बताउँछन्। उनले आफ्नो छोरीलाई १ लाख २० हजार दाइजो दिएर विवाह गरेको बताए। छोरीको उमेर ८–१० वर्ष पुगेको कारण दाइजो दिनुपरेको उनले बताए। दूधे अवस्थामा वैवाहिक कार्यक्रम गर्दा केटापक्षले दाइजो दिएर विवाह गर्नुपर्ने परम्परा रहेको उनले बताए। डोम समुदायमा हुने बालविवाहलाई अहिलेसम्म रोक्ने प्रयास भएको छैन। यो समुदायको वैवाहिक कार्यक्रम ब्राह्मणबाट हुँदैन।
तल्लो जातको विवाहमा ब्राह्मण नआउने हुँदा डोम जातिले अहिलेसम्म हजामबाट बिहे गराउँदै आएका छन्। हजामले जथाभावी मन्त्र उच्चारण गर्छन् र वैवाहिक कार्यक्रम सम्पन्न भएको घोषणा गर्छन्।