प्रस, निजगढ, ५ पुस/
जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगङ्गा, पसाहा खोलाको ठेक्का सकार गर्ने ठेकेदारलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खोलाको ठेक्का सम्झौता हुनुपूर्व नै नक्कली बिल र सरकारी छाप प्रयोग गरी नदीजन्य पदार्थको निकासी कर काटेको अभियोगमा अनुसन्धान गर्ने क्रममा ठेकेदार पनि दोषी देखिएपछि ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको  जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
ठेकेदारलाई बोलपत्रमार्फत ठेक्का परे पनि ठेक्का सम्झौता हुनुअघि नै नदीजन्य पदार्थ लोड भएका टिपर, ट्याक्टरलाई नक्कली बिल दिई रकम उठाउने गरेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बारामा सोविरुद्ध उजूरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।         सो क्रममा इलाका प्रहरी कार्यालय सिमराले बालगङ्गा खोलाबाट केही टिपर र ट्याक्टर चालकहरूलाई नियन्त्रणमा लिई अनुुसन्धान थालेपछि विनोद साह निर्माण सेवाले खोलामा खटाएका तीनजना कर्मचारी सन्तोष साह, मनोज न्यौपाने र अजयकुमार साह पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूको बयानको आधारमा उक्त निर्माण सेवामा मुख्य सञ्चालक तथा ठेकेदार शेषनाथप्रसाद साहसमेतको संलग्नता देखिएको प्रहरीको दाबी छ। पक्राउ परेकाहरूको म्याद थप गरी अनुसन्धान जारी छ। फरार अभियुक्त ठेकेदार साह कलैया उपमहानगरपालिका–१६ का अध्यक्ष समेत हुन्।
साहलगायत तीनजना छानबिनको क्रममा प्रहरीको सम्पर्कमा नआएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्नुपरेको प्रनाउ मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here