जीतलाल श्रेष्ठ, निजगढ, ५ पुुस/
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालगायत वन कार्यालयको वार्षिक प्रगति समीक्षा एवं अन्तक्र्रिया कार्यक्रम आइतवार सम्पन्न भयो। बारा जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो।
सो अवसरमा संयोजक सिंहले विमानस्थल निर्माणपूर्व गर्नुपर्ने कार्यहरूका बारेमा सबै पक्षले जानकारी लिंदै विमानस्थल निर्माणका लागि सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। “विकास निर्माणको सवालमा हामी सबै एकजुट हुनुपर्दछ। विकासविना मुलुकको समृद्धि नहुने भएकोले विकासका आवश्यकतासँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वर्षौंदेखि सवालहरू उठ्दै आइरहेका छन्,” उनले भने।
कार्यक्रमका विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विमानस्थल निर्माण कार्यलाई सम्पन्न गर्न आफ्नो तहले भ्याएसम्म सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे। डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले विमानस्थल निर्माण क्षेत्रका रूख गणना तथा सोको प्रगति, चुनौती एवं समस्याबारे सहभागीहरूलाई जानकारी गराएका थिए।
विमानस्थल निर्माणमा टाँगियाबस्ती मुख्य समस्याको रूपमा रहे पनि आन्तरिक गृहकार्य धेरै भइसकेकाले अब चाँडै बस्ती स्थानान्तरणबारे नीतिगत निर्णय आउनेमा आफू आशावादी रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विजय यादवले बताए। काँटगाउँमा मुआवजा लिन केहीले निवेदन दिइसकेका र केहीले मात्र लिन नमानिरहेको अवस्था रहेको जनाउँदै विमानस्थल निर्माणमा सबैको साथ, सहयोग र सकारात्मक ढङ्गले अघि बढ्नुको अर्को विकल्प नभएको उनले बताए।
कार्यक्रममा अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्णप्रसाद पङ्गेनी, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख रिवेनकुमार गच्छदारलगायतको सहभागिता थियो। कार्यक्रमअघि विमानस्थल क्षेत्रको वन, टाँगियाबस्ती, काँटगाउँको अनुगमनसमेत गरिएको थियो। कार्यक्रमको सहजीकरण सहायक वन अधिकृत अनिल साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here