प्रस, रौतहत, ५ पुस/
रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरू गरेको छ।
सो मिलले आइतवारदेखि दैनिक एक करोड रुपैयाँको दरले उखु किसानको रकम भुुक्तानी शुरू गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
भुक्तानी गर्नुपर्ने किसानहरूको सूची तयार गरेर जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम रु सत्र करोड छ।
यसैगरी, राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले रु चार करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।
सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिल्सले गत शुक्रवारदेखि भुक्तानी शुरू गरेको छ। उक्त मिलले सोमवारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयसँग सहमति भएको मिल व्यवस्थापन पक्षले जानकारी गराएको छ।
मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रवार छ हजार किसानलाई रु १६ करोड ४४ लाख ७० हजार बक्यौता रकम भुक्तानी गरिसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।