प्रस, वीरगंज, ३ पुस/
नेपाल–भारत खुला सीमा संवाद समूहले शुक्रवार २२औं दिन पनि सीमा खुला गर्नुपर्ने माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिएको छ।
सिल सीमा खुला गर्न माग गर्दै बिहान ९ देखि १० बजेसम्म धर्ना दिंदै आएको समूहले आज २२औं दिन धर्ना दिएको समूहका संयोजक कृष्ण पटेलले बताए।
धर्ना कार्यक्रममा रम्भा मिश्र, ओमप्रकाश सर्राफ, उषा श्रीवास्तव, शेख मुन्ना, रमेश सर्राफ, प्रतिमा जोशी, कपिल चौगाईंलगायत सहभागी थिए।
यसैबीच, पुस १ गतेदेखि वीरगंज भन्सार कार्यालय भएर रक्सौल आवतजावत गर्ने दुई चक्के सवारीसाधन मोटरसाइकल, साइकल र पैदल यात्रीहरूलाई छुट दिइएकोमा आजबाट रोक लगाइएको छ। भारतले कात्तिक ६ गते आफ्नो नाका खुला गरेपछि रक्सौल–वीरगंज नाकाको मुख्य सडकबाट आवतजावत नभए पनि सहायक बाटोबाट मानिसहरूको आवतजावत जारी थियो।
यसै क्रममा पुस १ गतेदेखि नाका खुला हुने हल्लासँगै मुख्य सडक भएर पैदल र साइकल, मोटरसाइकलबाट आवतजावत खुला गरिएको थियो। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा खुला गर्नेतर्फ निर्णय नगरेपछि आज बिहानदेखि मुख्य नाका भएर पैदल यात्रीहरूसमेतलाई आवतजावतमा रोक लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here