Home समाचार स्थानीय स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि चौकी सिल

स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि चौकी सिल

स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि चौकी सिल

प्रस, सेढवा, २६ साउन/
जीराभवानी गाउँपालिका–२ स्थित सेढवा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । गत बिहीवार गापाको क्वारेन्टाइनमा रहेका २७ जना, स्वास्थ्यकर्मी, प्रहरी तथा पत्रकार गरी चालीसजनाको स्वाब नमूना सङ्कलन गरिएको थियो । त्यसमध्ये आइतवार साँझ आएको रिपोर्टमा एकजना महिला स्वास्थ्यकर्मी सङ्क्रमित देखिएकी हुन् ।
सङ्क्रमित देखिएकी स्वास्थ्यकर्मी चौकीमा कार्यरत नौजना स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङमा रहेकीले अहिले सबैजनालाई क्वारेन्टाइनमा राखिएको गापा स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए । उनले सङ्क्रमित स्वास्थ्यकर्मीलाई कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरमा पठाइएको बताएका छन् । नौजना स्वास्थ्यकर्मीलाई चौकीकै क्वारेन्टाइनमा राखिएको संयोजक अन्सारीले बताए । रिपोर्ट आउन ढिला भएको र सङ्क्रमितसँग सबैको हुलमिल रहेकोले क्वारेन्टाइन गरिएको उनले बताए ।
मावि सेढवाको क्वारेन्टाइनमा रहेका २७ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको छ । मावि सेढवाको क्वारेन्टाइनबाट अहिलेसम्म २७५ जना क्वारेन्टाइनमा बसेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।
दुईजना सङ्क्रमितसहित १४ जनाको स्वाब सङ्कलन
प्रस, पंचगावाँ/

पटेर्वासुगौली गाउँपालिका स्वास्थ्य शाखाले सोमवार स्वाब नमूना सङ्कलन गरेको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय फरफवाको आइसोलेशनमा रहेका दुईजना सङ्क्रमित र उनीहरूको सम्पर्कमा रहेका १२ जनाको स्वाब नमूना सङ्कलन गरिएको गापाका स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले बताए ।
सङ्क्रमित र उनको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए ।
वडाध्यक्ष र सचिवको सम्पर्कमा रहेका सयजनाको स्वाब सङ्कलन
प्रस, पर्सागढी/

पर्सागढी नगरपालिका–४ र ९ मा सयजनाको स्वाब नमूना सङ्कलन गरिएको छ । वडा नं ९ का अध्यक्ष र वडा नं ४ का वडासचिवमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका सयजनाको स्वाब नमूना सङ्कलन गरिएको हो ।
दुवैजनाको सम्पर्कमा ५०/५० जना परेका छन् । पर्सागढी नपाको प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौना, नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुर र जनता मावि पकडिया बढनिहार गरी तीन स्थानमा स्वाव सङ्कलन गरिएको थियो । सोमवार सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन गरिएको र मङ्गलवार क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन गरिने प्राथमिक सेवा केन्द्रका डा चन्द्रभूषण सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here