प्रस, सिम्रौनगढ, २ पुस/
सिम्रौनगढमा कुखुरा व्यवसायी सङ्घको भेला बिहीवार सम्पन्न भएको छ।
रामबाबूप्रसाद यादवको अध्यक्षतामा भएको भेलामा सहभागी कुखुरा व्यवसायीहरूले भारतबाट भइरहेको बोइलर कुखुराको अवैध तस्करीलाई नियन्त्रण गर्नुपर्ने बताए। भारतमा नेपालको तुलनामा बोइलर कुखुरा सस्तो भएकोले सोको अनधिकृत आयातबाट नेपाली कुखुरा व्यवसायीहरूलाई मर्का परेको बताए।
सहभागीहरूले यसबारेमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी गोलागंज, पिपरपातीलाई बेलाबेलामा अवगत गराउँदा पनि कुखुराको तस्करी बन्द नभएकोमा आन्दोलनको चेतावनी दिए। यथावस्थामा कुखुरा व्यवसायीहरू आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भन्दै भारतबाट आउने बोइलर कुखुरा नियन्त्रण गर्न आग्रह गरे।
भेलाले शत्रुघ्न कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय कुखुरा व्यवसायी सङ्घर्ष समिति गठन गरेको छ।
समितिको उपाध्यक्ष जयप्रकाश प्रसाद, सचिव हमिद अन्सारी, सहसचिव उमेश कुशवाहा र कोषाध्यक्षमा रामबाबू यादवलगायत सदस्यहरू छन्।