प्रस, निजगढ, २ पुस/
निजगढमा बन्न थालेको अन्तर्राष्ट्रिय विमानस्थलका लागि बकैया खोला किनारमा भइरहेको तटबन्धमा अवैध ढुङ्गा प्रयोग भइरहेको समाचारले आफ्नो ध्यानाकर्षण भएको निजगढ नपाकी उपप्रमुख लीलादेवी लामिछानेले बताइन्। गैरकानूनी काम गर्ने निर्माण कम्पनी वा जोसुकैलाई पनि कारबाही गरिने उनले बताइन्।
बन्न थालेको अन्तर्राष्ट्रिय विमानस्थलको तटबन्धको काममा चोरीको अवैध ढुङ्गा प्रयोग भइरहेको घटनाले यहाँ चर्चा पाएको छ।
चोरी, तस्करी गरी ल्याइएका ढुङ्गाको पहिचान गरी ठेक्का सकार गर्ने खानी भुवनेश्वरी जोशी जेभीलाई छानबिन गरी अविलम्ब कानूनी कारबाही गर्नुपर्ने स्थानीयहरूले आवाज उठाएका छन्।
निर्माण कम्पनीले अवैध ढुङ्गा व्यापकरूपमा प्रयोग गरेको तटबन्ध निर्माणमा खटेका मजदूरहरूले बताएका छन्।
यसअघि बगर खोला र धन्सार खोलाबाट अवैधरूपमा ल्याइएको ढुङ्गासहित चारवटा ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डिभिजन वन कार्यालय बाराका डिएफओ मन्जुर अहमदले बताए।