प्रस, सप्तरी, २ पुस/
१५ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाइ बलात्कार गरेको अभियोगमा एक १८ वर्षीय किशोरलाई १९ वर्ष ४ महीना कैद सजायको फैसला भएको छ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला  गरेको हो।
सप्तरीबाट किशोरीलाई अपहरण गरी सुनसरी पु–याएर बन्धक बनाइ बलात्कार गरेको आरोपमा किशोरविरुद्ध पुष्टि भएको अदालतले जनाएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आरोपितलाई जबरजस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महीना कैद र ४६ हजार ६४६ रुपैयाँ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महीना कैद र रु ६६ हजार ६६६ जरिवाना तोकेको छ। त्यसैगरी, आरोपितले पीडितलाई एकमुस्ट ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसलामा उल्लेख छ।
कैदतर्फ जबरजस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको कैद भोग्नुनपर्ने भएको छ, तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी गराएका छन्।
आरोपितले २०७५ मङ्सिर २५ गते किशोरीलाई गाउँँघरबाटै अपहरण गरी सुनसरीको इटहरी पु–याएर बन्धक बनाइ बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाको सातौं दिन जाहेरी दिएका थिए। जाहेरी परेको भोलिपल्ट नै प्रहरीले आरोपित किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको थियो।
अभियुक्त किशोर अदालतको आदेश अनुसार २०७५ पुस २८ गतेदेखि बाल सुधारगृहमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here