वन क्षेत्रमा विनाइजाजत अस्फाल्ट बेचिङ प्लान्ट सञ्चालन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, ३१ वैशाख/

निजगढ नगरपालिका–९ आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र विगत चार वर्षदेखि वीरगंजको रञ्जन निर्माण सेवाले वन ऐन, कानूनको बर्खिलाप अस्फाल्ट बेचिङ प्लान्ट उद्योग सञ्चालन गर्दै आएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित निजगढ सडकखण्डको दक्षिण भमरा पुुल पूर्वतर्पm अनुमति नलिएर स्थानीय तह निजगढ नगरपालिकाको आडमा अस्फाल्ट बेचिङ प्लान्ट उद्योग सञ्चालन गरेको पाइएको छ । शुरूका वर्ष निजगढ नगरपालिकाको क्षेत्रभित्रका सडकहरूमा कालोपत्रका लागि अस्फाल्ट पिच गुणस्तरीय हुने भन्दै त्यस बेला निजगढ नगरपालिकाका केही जनप्रतिनिधिहरूले वन समूहको वन क्षेत्रको खाली चौरमा प्लान्ट सञ्चालन गर्न सकिने ठाउँ देखाए पनि उद्योगले सम्बन्धित वन समूह, वन कार्यालयसँग इजाजत नलिईकनै कानूनविपरीत प्लान्ट सञ्चालन गर्दै आइरहेको छ ।

यसविरुद्ध उद्योगसँग लिखित प्रमाण माग गरिएको तर अहिलेसम्म जवाफ नआएको आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनले नियमसङ्गत सोधिएको पत्रको जवाफ नदिएकोले जबरजस्ती सञ्चालित उद्योगविरुद्ध कानूनी कारबाही अगाडि बढाउने बताए ।

वन समूहका सचिव दीपक श्रेष्ठले पनि उद्योग बन्द गरी मेशीन, सवारीसाधनहरू लैजान मौखिक र लिखित जानकारी गराएको तर अटेर गरेको कारण अब कानूनी उपचारको बाटो अपनाउने बताए । उनले ३/४ कट्ठा जग्गाबाट शुरू गरिएको उद्योगले अहिले एक बिघा क्षेत्रफल ओगटेको बताए । कालोपत्र पिच पगाल्ने क्रममा निस्कने धूवाँले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेको स्थानीय बुधराज श्रेष्ठले गुनासो गरे ।

अस्फाल्ट पिच तयार गर्दा निस्कने धूवाँले वन्यजन्तु, चराचुरुङ्गीलगायत प्राणी र वातावरणमा गम्भीर असर पारिरहेको उनले बताए । अनधिकृतरूपमा सञ्चालित सो उद्योग हटाउन सामुदायिक वन समूहलाई आग्रह गरिएको सबडिभिजन वन कार्यालय भमराका अधिकृत रघुनाथ दासले बताए । विनाइजाजत वन क्षेत्रमा सञ्चालित उद्योग हटाइने डिभिजन वन कार्यालय, बाराका प्रमुख विनोद सिंहले बताए । उनले भने– “मातहतका निकायलाई निर्देशन दिइसकिएको छ, अब अविलम्ब कारबाही गरिनेछ ।”

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।