प्रस, वीरगंज, ३१ वैशाख/
वैदेशिक रोजगारमा नेपालबाट विभिन्न म्यानपावर कम्पनीबाट दुबई गएका तीन सय नेपाली अहिले पीडामा छन् । अञ्जली, नीलकमल र तिलगङ्गा ओभरसिजबाट दुबईको जबलहलीस्थित मेरेस्को कन्स्ट्रक्शनमा कामका लागि पठाइएका तीन सयजना नेपाली मजदूरलाई तोकिए बमोजिमको सेवासुविधाहरू नदिएको र सोविरुद्ध आवाज उठाउँदा अहिले उनीहरूलाई खान, बस्नबाट पनि वञ्चित गरिएको बताइएको छ ।
नेपालबाट रोजगारका लागि दुबई गएका पर्सा जिल्ला मुडलीका २४ वर्षीय नीरजकुमार चौरसियाले म्यानपावर कम्पनीले एक हजार १५० दिनार मासिक तलब पाउने भनेर पठाएको तर त्यहाँ ७५० दिनार मात्र पाएको बताए । तीन महीना अघि वैदेशिक रोजगारमा गएका उनले अहिले भने अनुसारको मासिक तलब सेवासुविधा माग गर्दा कम्पनीले खान र बस्नबाट पनि वञ्चित गरेको आरोप लगाएका छन् ।
सिन्धुली जिल्ला बालाजुरी गापा–३ बस्ने चमारा सिंहले पनि म्यानपावर कम्पनीहरूले भनेर पठाए अनुसारको सेवासुविधाबाट वञ्चित पारिएको र सोको विरोध गर्दा खान, बस्न नदिइएको बताए । अहिले मेरेस्को कन्स्ट्रक्शनमा तीन सय नेपालीले सोही पीडा भोगिरहेको उनले बताए ।