प्रस, सेढवा, २९ मङ्सिर/
जीराभवानी गाउँपालिका–२ सेढवास्थित गापाको एकमात्र बर्थिङ सेन्टर दुई महीनाको लागि बन्द भएको छ। बर्थिङ सेन्टरमा कार्यरत कर्मचारी साठी दिनको एसबिए तालीममा सहभागी भएको कारण कर्मचारी अभावमा बर्थिङ सेन्टर बन्द गरिएको हो।
मङ्सिर १० गतेदेखि नारायणी अस्पतालमा ६० दिने तालीम शुरू भएको र त्यसैमा सहभागी हुन बर्थिङ सेन्टरका कर्मचारी गएको कारण सेवा बन्द गरिएको सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए। अन्य कर्मचारीले बर्थिङ सेन्टर सञ्चालन गर्न नसक्ने हुँदा सेवा बन्द गरिएको र त्यहाँ हुने सुत्केरीलाई नारायणी अस्पताल रेफर गर्ने गरिएको इन्चार्ज प्रसादले बताए। सेढवा बर्थिङ सेन्टरमा ठोरी, जीराभवानी, जगरनाथपुर गापाका गर्भवती महिलाहरूले सेवा लिंदै आएका थिए। यो बर्थिङ सेन्टरमा दैनिक एकजना गर्भवती सुत्केरी हुने गरेको बताइएको छ।
जीराभवानी गापाका स्वास्थ्य संयोजक सफिकुल अन्सारीले सेवा सञ्चालन सम्बन्धमा प्रक्रिया अगाडि बढाइरहेको र तुरुन्त कर्मचारीको व्यवस्था गरेर सेवा सञ्चालन गर्ने आश्वासन दिएका छन्।
पर्साको ग्रामीण क्षेत्रमा पटेर्वासुगौलीमा तीन, ठोरीमा दुई, छिपहरमाईमा दुई र जीराभवानी गापामा एउटा बर्थिङ सेन्टर सञ्चालनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here