प्रस, निजगढ, २९ मङ्सिर/
निजगढ नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का रद्द गरेसँगै पुनः ठेक्काका लागि टेन्डर आह्वान गरेसँगै अन्तिम दिन आज सोमवार १३ वटा बोलपत्र फाराम बिक्री भएको निजगढ नपा राजस्व शाखाले जनाएको छ।
यस आर्थिक वर्षको पहिलो टेन्डरमा ठेकेदारहरूले भरेको बोलपत्र खोल्दा हिमानी सिमेन्ट ब्लक निजगढले १३ करोड ५१ लाख, न्यू पाथीभरा सप्लायर्स हेटौंडाले १३ करोड ३१ लाख ११ हजार १११ रुपैयाँमा ठेक्का साकार गर्ने उल्लेख गरिए पनि कानूनबमोजिम योग्य नभएको पाइएको थियो।
यता, त्यसपछिका विकोई बिल्डर्स काठमाडौंले १३ करोड २५ लाख २५ हजार ५५१ रुपैयाँमा टेन्डर साकार गर्ने उल्लेख गरी ठेक्का हालेको थियो। विकोईले आफूले ठेक्का नपाए निजगढ नपाविरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताए पनि मुद्दा दिन सकेन। नगरपालिकाविरुद्ध मुद्दा दायर गर्दा विकोईले आफू हार्ने देखेपछि मुद्दा दायर नगरी आइतवार निजगढ नपाबाट बोलपत्र फाराम खरीद गरेको थियो।
सोही बोलपत्रमा पहिलो अङ्कको हिमानी सिमेन्ट ब्लक निजगढले बैंक धरौटी रकम (बिडबन्ड) निजगढ नगरपालिकाको खातामा तोकिएको समयमा जम्मा नगरेको, दोस्रो न्यू पाथीभरा सप्लायर्स हेटौंडाले बैंक धरौटी रकमको सक्कल भौचर नराखी फोटोकपी राखेको थियो।
रीत नपु–याइ बोलपत्र दर्ता गर्ने ठेकेदार कम्पनीलाई बैंकिङ कसूरमा पक्राउ गर्न सकिने कानूनी आधार रहे पनि निजगढ नपाले त्यसतर्फ भने लचकता अपनाएको थियो। यस वर्ष बकैया र धन्सार खोलालाई समेटेर न्यूनतम ठेक्का अङ्क १३ करोड ३२ हजार ९१ रुपैयाँमा निनपाले बोलपत्र आह्वान गरेकोे थियो।
अघिल्लोपटक हिमानी सिमेन्ट ब्लक निजगढबाहेक १२ वटा फर्मले मिलेमतोमा बोलपत्र भरेका थिए। सो मिलेमतो २ करोड रुपैयाँभन्दा बढीको भएको चर्चाले व्यापकता पाएको थियो।