प्रस, सिराहा, २९ मङ्सिर/
सिराहाको कर्जन्हा गाउँपालिका वडा नं १ बन्दीपुरस्थित बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। अहिले सो ताल क्षेत्रमा भ्यू टावर निर्माण गरिएपछि झन् पर्यटकको चाप बढेको छ।
पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करीब दुर्ई किलोमिटर उत्तरमा बाबाताल छ। सोको वरिपरि पिकनिक स्पट, शिव मन्दिर र आकर्षक पार्क निर्माण गरिएका छन्। यहाँ निर्माण गरिएको भ्यु टावर पर्यटकले निकै रुचाएका छन्।
पर्यटन बोर्डले बनाएको भ्यू टावर यसै साता उद्घाटन भएको हो। भ्यू टावरबाट बाबातालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। दृश्यावलोकनका लागि हाल दैनिक एक सयदेखि १५० जनासम्म आन्तरिक पर्यटक आउने गरेको ताल संरक्षण संवद्र्धन समितिले जनाएको छ।
चुरे क्षेत्रनजीकै रहेको सो तालमा कात्तिकदेखि माघ महीनासम्म धेरै पर्यटक आउने गरेको उक्त क्षेत्रका प्रदेशसभा सदस्य दिलीप साहले बताए। बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्दै आएको खहरे खोलालाई तटबन्ध र घेराबार गरेर आर्थिक वर्ष २०६०/६१ सालमा भूसंरक्षण कार्यालयले बाटो निर्माण गरेको बाबाताल क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर र बालपार्क बनाएर व्यवस्थित बनाएको हो।
सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट विद्यालय तथा कलेजका विद्यार्थीहरूसमेत आउने गरेका छन्। नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्छ। ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुरी चलचित्र छायाङ्कन हुन थालेको सोही स्थानका पसल सञ्चालन गरी बसेका कोपिला दाहालले बताइन्।
ताल क्षेत्रमा सबैको पहुँच सहज होस् भन्ने उद्देश्यले प्रवेश शुल्कसमेत सुलभ तोकिएको ताल संरक्षण समितिले जनाएको छ।
ताल क्षेत्रमा प्रवेश शुल्क रु १० र तालमा आधा घण्टा डुङ्गा सयर गर्ने पर्यटकका लागि थप रु १५ शुल्क तोकिएको छ। ताल क्षेत्रको आकर्षण बढाउन बगैंचा र बाल उद्यान निर्माण गरिएको समितिका अध्यक्ष अञ्जनी यादवले बताइन्।
करीब सात हेक्टरमा क्षेत्रफलमा फैलिएको बाबातालको रमणीय आनन्दमा रमाउन आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ।