प्रस, पोखरिया, २८ मङ्सिर/
    पोखरियामा सञ्चालित सामुदायिक पुस्तकालय अहिले लथालिङ्ग, भताभुङ्ग अवस्थामा छ।
    २०७१ कात्तिक २३ गतेदेखि सञ्चालित सामुदायिक पुस्तकालय २०७६ मङ्सिर १४ गते पोखरिया नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरणको क्रममा पोखरिया नपाले पुस्तकालय निरन्तररूपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको थियो। तर पुस्तकालय हस्तान्तरणपछि नगरपालिकाले सञ्चालनमा ध्यान दिएन र अहिले एक वर्षदेखि पुस्तकालय बन्द छ र सो पुस्कालयमा नगरपालिकाले आफ्ना शाखाहरू सञ्चालन गरेको छ।
    पुस्तकालयमा भएका चारवटा कम्प्युटर, सातवटा ल्यापटप, फोटोकपी मेशिन र पुस्तकहरू रामदेव कलवार जिल्ला उच्चाङ्गल माविको एउटा कोठामा थन्काएर राखिएको छ। सामुदायिक पुस्तकालय सञ्चालनमा रहँदा दैनिक सयजना बालबालिका लाभान्वित थिए। पुस्तक पढ्न, कम्प्युटर चलाउन, सिक्न बालबालिकाहरू सामुदायिक पुस्तकालयमा जाने गरेका थिए। अहिले पुस्तकालय बन्द भएपछि उनीहरू सो सुविधाबाट वञ्चित भएका छन्।
    पोखरिया नगरपालिकाले पुस्तकालय रहेको कोठामा स्वास्थ्य शाखा, दर्ता चलानी, पञ्जीकरण र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम चलाउँदै आएको छ। विद्यालयको एउटा कोठामा थन्काइएका पुस्तकहरू मुसाले खाएका छन् भने यान्त्रिक सामानहरू पनि सञ्चालनमा नआएर बिग्रिने क्रममा छन्।
    यसबारेमा नगरप्रमुख दीपनारायण रौनियारसँग बुझ्दा उनले पुस्तकालयको छुट्टै भवन बनिरहेकोले अहिले सञ्चालन हुन नसकेको बताए। उनले पुस्तकालय भवनको काम ७५ प्रतिशत सम्पन्न भएको र चाँडै पुस्तकालय सञ्चालनमा ल्याउने बताए। उनले पुस्तकालयका सामानहरू विद्यालयको कोठामा सुरक्षित राखिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here