प्रस, परवानीपुर, २६ मङ्सिर/
दशैं, तिहार र छठको महीना असोज र कात्तिकमा भन्सार विभागले कम राजस्व लक्ष्य दिने र मङ्सिरमा बढी राजस्व दिएको कारण वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहलाई चालू महीनामा लक्ष्य उठाउन कठिन भएको छ ।
यो महीनाको मसान्तमा सरकारले दिएको लक्ष्यको ५० प्रतिशतको हाराहारीमा मात्र लक्ष्य उठ्ने अनुमान गरिएको छ । श्रीसिया सुक्खा बन्दरगाहका सूचना अधिकारी जगदीश पुर्वेका अनुसार औसतमा हरेक महीना तीनदेखि साढे तीन अर्ब रुपैयाँको राजस्व सङ्कलनको लक्ष्य पाउँदै आएकोमा यो महीना करीब रु पाँच अर्बको राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य पाएको छ । तर विदेशबाट सामान आयात घटेको र विलासी गाडीको आयात पनि घटेकोले तोकिएको राजस्व लक्ष्य पु¥याउन कठिन भएको बताए ।
भन्सार कार्यालयले यो महीना रु ४ अर्ब ९२ करोडको लक्ष्य पाएकोमा  मङ्सिर २१ गतेसम्म जम्मा रु २ अर्ब १० करोड मात्र राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४२.७० प्रतिशत मात्र हो । अर्थात् धेरै नै उठायो भने मसान्तको अन्त्यसम्म ५० प्रतिशतसम्म लक्ष्य उठ्ने विश्वास भन्सार कर्मचारीको छ । चालू आवको १२ महीनाको लागि भन्सार कार्यालयले रु ४४ अर्ब ६३ करोड ३२ लाखको राजस्व सङ्कलन लक्ष्य पाएको छ । त्यसमध्ये मङ्सिर महीनासम्म रु १६ अर्ब ३४ करोड ८१ लाख १९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ । तर मङ्सिर २१ गतेसम्म रु १३ अर्ब ४८ करोड ३ लाख ९० हजार राजस्व उठाइसकेको छ । जुन कुल लक्ष्यको ८५.५ प्रतिशत हो । साउनदेखि कात्तिकसम्मको प्रथम चौमासिकमा श्रीसिया सुक्खा बन्दरगाहले रु ११ अर्ब ४२ करोड ५४ लाख ५५ हजार राजस्व सङ्कलन लक्ष्य पाएकोमा ९९.५७ अर्थात् रु ११ अर्ब ३७ करोड ६१ लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनमा रु १ अर्ब ७८ करोड २७ लाख लक्ष्य पाएकोमा रु १ अर्ब ८६ करोड ६ लाख, भदौमा रु ३ अर्ब १२ करोड ५७ लाख लक्ष्य पाएकोमा रु २ अर्ब ५१ करोड ८७ लाख, असोजमा रु ४ अर्ब ४६ करोड २६ लाख राजस्व लक्ष्य पाएकोमा रु ३ अर्ब ८७ करोड ९६ लाख र कात्तिकमा रु २ अर्ब ५ करोड ४२ लाख लक्ष्य पाएकोमा रु ३ अर्ब ११ करोड १९ लाख राजस्व सङ्कलन भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here