नितेश कर्ण, वीरगंज, २० चैत/
सर्लाही जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत ढक–तराजुकै प्रयोग भइरहेको छ । गुणस्तर तथा नापतौल कार्यालयले प्रविधिको विकाससँगै विद्युतीय नापतौलको व्यवस्था गरे पनि सर्लाहीको ग्रामीण क्षेत्रमा भने यसको प्रयोग हुन सकेको छैन । जसले गर्दा उपभोक्ताहरू ठगीको शिकार भइरहेका छन् ।
मलङ्गवा उद्योग वाणिज्य सङ्घका सदस्य गणेश गुप्ताले सर्लाहीको ग्रामीण क्षेत्रका साथै मलङ्गवा बजारलगायत शहरी क्षेत्रमा परम्परागत ढक–तराजुको प्रयोग भइरहेको बताए ।
उनले मलङ्गवा, लालबन्दी, बरहथवा, हरिवन, बयलबासलगायतका शहरी क्षेत्रमा ठूला व्यापारीदेखि साना पसलेहरूले गुणस्तर तथा नापतौल कार्यालयबाट चेकजाँच गरिएको प्रमाणित डिजिटल तराजुको प्रयोग गरेको बताए । यी स्थानहरूमा भने छिटपुटरूपमा मात्र परम्परागत ढक–तराजुको प्रयोग भएको पाइन्छ तर ग्रामीण क्षेत्रमा प्रमाणित ढक–तराजुको प्रयोग हुन नसकेको उनले बताए । उनले ग्रामीण क्षेत्रमा अप्रमाणित भारतीय ढक–तराजुकै प्रयोग बढी देखिएको बताए ।
भारतसँग सिमाना जोडिएको सर्लाहीको गोडैता, कौडेना, भाँडसर, खुटौना, पकडी फेन्हारा, बलरा, त्रिभुवननगर, संग्रामपुर, नारायणपुर, पर्सालगायतका ग्रामीण क्षेत्रमा दैनिक तथा साप्ताहिकरूपमा हाटबजार लाग्दै आएका छन् र यी बजारहरूमा भारतीय ढक–तराजुको प्रयोगसँगै परम्परागत इँटा, ढुङ्गा, फलामका टुक्रालगायतका वस्तुलाई ढक बनाएर काठे डन्डावाला तराजुबाट सामान तौल गर्ने परम्परा विद्यमान छ । यस्ता परम्परागत ढक–तराजुबाट आम उपभोक्ताहरू ठगिने सम्भावना बढी हुन्छ । कतिपय व्यापारीहरूले डिजिटल तराजु प्रयोग गरे पनि ती डिजिटल तराजु गुणस्तर तथा नापतौत कार्यालयबाट प्रमाणित गराइएका हुँदैनन् र ती विद्युतीय तौल मेशीन भारतबाट खरीद गरिएकाले ठगिने सम्भावना बढी हुने गरेको उपभोक्ताहरू बताउँछन् ।
अप्रमाणित ढक–तराजुबाट ग्राहकहरू ठगिने गरे पनि यस सम्बन्धमा गुणस्तर तथा नापतौल कार्यालय, स्थानीय वडा तथा नपा र गापाहरूले चासो देखाएका छैनन् ।
गुणस्तर तथा नापतौल कार्यालय, जनकपुरका सहायक निरीक्षक मनोजकुमार साहले वार्षिकरूपमा बजार अनुगमन गर्ने गरेको बताए । उनले सर्लाहीको बयलबासबाहेकका बजार अनुगमन गरेको दाबी गरे । उनले नियमितरूपमा बजार अनुगमन गरेर कसूरवारहरूलाई कारबाही गर्न नसकिएको परिणाम व्यापारीहरूको मनोबल बढेर परम्परागत ढक–तराजु प्रयोग हुँदै अFएको बताए ।