प्रस, वीरगंज, २५ मङ्सिर/
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा वीरगंजको घण्टाघरमा दुईवटा संस्थाले दीप प्रज्वलन गरेको छ।
मानव अधिकार सङ्गठन पर्सा र एमनेस्टी इन्टरनेशनल समूह १६ वीरगंजले मैनबत्ती बालेर दिवस मनाएका थिए।
घण्टाघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मानव अधिकार सङ्गठन पर्साका अध्यक्ष कमलमोहन अधिकारी र विद्यार्थी नेता दिलीपराज कार्कीले मानव अधिकार हननका मुद्दालाई फरक प्रकृतिबाट हेर्नुपर्ने बताए।
उनीहरूले अहिलेसम्म अपराधजन्य घटनामा मात्र मानव अधिकार हननका विषयहरू उठान भइरहेको बताउँदै आगामी दिनमा विकाससँग जोडिएका मुद्दाहरूमा पनि मानव अधिकार हननका विषय जोड्नुपर्ने बताए।
सडक निर्माणलगायतका विषय मानव अधिकार हननका विषय हुन सक्ने र यसमा नयाँ सिराबाट पहल हुनुपर्ने बताए।
सङ्गठनले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा एमनेस्टी इन्टरनेशनल समूह १६ वीरगंजका संयोजक राजेश बोथराले मानव अधिकार हननका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।
उनले पछिल्लो समय नेपालमा मानव अधिकार हननका घटना बढी रहेको भन्दै यसका दोषीहरूलाई कारबाई गर्न माग गरे। त्यसैगरी, विनाकसूर सजायमा परेकाहरूको विषयमा पनि सरकारले छानबीन गर्नुपर्ने उनले माग गरे।
उनले सरकारमा परेका मानव अधिकार उल्लङ्घनका उजूरीहरू कार्यान्वयन गर्नेतर्फ अग्रसरता देखाउनुपर्ने बताए।
कार्यक्रममा छेन्डुप लामा, मनोज बावरी, सविता खड्गी, विजीत सोनीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here