प्रस, सेढवा, १६ चैत/
बिहीवारदेखि देशभरि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्सामा मुसहर समुदायका बालबालिकाहरूको सहभागिता एकदमै न्यून रहेको छ ।
दलित समुदायमा पर्ने चमार र दुसाद जातिका बालबालिकाहरूको सहभागिता रहे पनि मुसहर समुदायका बालबालिकाको भने एकदमै न्यून सहभागिता रहेको छ ।
जीराभवानी गाउँपालिकामा मुसहर समुदायका करीब तीन सय परिवारको बसोबास भएपनि सो समुदायका एकजना पनि एसइईमा सहभागी छैनन् ।
जीराभवानी गाउँपालिकामा रहेका मावि सेढवा, जनता मावि जीतपुर नौकाटोला, मावि कठकुइया वसन्तपुर र वर्णमाला स्कूल गरी चारवटा विद्यालयबाट २१८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी छन् । ती परीक्षार्थीहरूमा मुसहर समुदायका एकजना पनि सहभागी छैनन् ।
जीराभवानी गाउँपालिका वडा नं २ मा रहेको नेरामावि सेढवा बिर्ताका प्रधानाध्यापक खेमराजप्रसाद महतोका अनुसार मुसहर समुदायका बालबालिकाहरूको विद्यालयमा भर्ना भएपनि कक्षा ५/६ मा नपुग्दै विद्यालय छाड्ने गरेकाले एसइईमा सहभागी नभएका प्रअ महतोले बताए ।
त्यस्तै, पटेर्वासुगौली गाउँपालिकामा रहेका मावि रङ्गपुर, मावि दाप सुगौली र मावि निचुटा गरी तीनवटा विद्यालयबाट ३२५ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।
जसमा मावि दाप सुगौलीबाट चारजना मुसहर समुदायका बालबालिकाको सहभागिता रहेको प्रअ रामाशङ्कर प्रसादले बताए ।
पटेर्वासुगौली गापा वडा नं ५ मा रहेको नेरामावि निचुटाका प्रअ श्याम घिमिरेका अनुसार मुसहर समुदाय एकदमै गरीब भएका कारण शिक्षाको पहुँचबाट टाढा रहेकाले एसइईमा उनीहरूको सहभागिता नरहेको बताए ।
यस समुदायका बालबालिकाहरू १०/१२ वर्ष उमेर पुग्दा नपुग्दै विद्यालय छाड्ने गरेका प्रअ घिमिरेले बताए ।
त्यस्तै, जगरनाथपुर गाउँपालिकामा पनि मुसहर समुदायका एकजना बालबालिकाको पजि एसइईमा सहभागिता नरहेको मावि सन्ठीका प्रअ हसमोद्दीन मियाँले बताए ।
यस क्षेत्रमा यो समुदायको बसोबास कम भएकोले पनि एसइईमा सहभागिता नभएको प्रअ मियाँको भनाइ छ ।