प्रस, वीरगंज, २४ मङ्सिर/
‘जाऊ है पोखरा’ मूल नाराका साथ पश्चिमाञ्चल होटल व्यवसायी सङ्घ पोखराले बुधवार वीरगंजमा छलफल गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपालको काठमाडौं, पोखरा मात्र पर्यटकीय स्थल नभई मधेसमा पनि धेरै पर्यटकीय स्थल रहेको बताए। बाह्य र आन्तरिक पर्यटक पोखरा घुम्ने तर मधेसका पर्यटकीय स्थलमा नघुमाउँदा पर्यटकहरू ठगिएको महसूस गर्ने गरेको उनले बताए।
मन्त्री मण्डलले सङ्घ सरकारले भिजिट नेपाल २०२० घोषणा गरेलगत्तै लकडाउनले कार्यक्रम स्थगित भएको र अहिले बिस्तारै आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्दै गएको बताए।
उनले सीमानाका बन्द भएको कारण भारतीय पर्यटकहरू नआउँदा पर्यटन क्षेत्रमा परेको नराम्रो असरबारे प्रदेश सरकारले सङ्घ सरकारसँग छलफल गरिरहेको बताए। भिजिट मधेस अभियान अन्तर्गत प्रदेश सरकारले ५ र ७ दिनको प्याकेज बनाएर प्रदेशभरिका पर्यटकीय स्थल भ्रमण गराउने योजना अनुरूप कार्य अगाडि बढिरहेको पनि उनले बताए। प्रदेश नं २ धार्मिक पर्यटकहरूको लागि उपयुक्त भएको र सङ्घ सरकारसँग समन्वय गरी पर्यटकीय स्थलको सौन्दर्यीकरणमा प्रदेश सरकार लागेको बताए।
कार्यक्रममा सहभागीहरूले देशको विकास गर्न सङ्घ सरकारले पर्यटन, उद्योग र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए। पोखरा रमणीय स्थल रहेको र त्यहाँ विदेशीभन्दा बढी भारतीय पर्यटकहरू जाने गरेको बताए। सहभागीहरूले बन्द सीमानाका तत्काल खोल्नुपर्ने माग गरे।
कार्यक्रममा पश्चिमाञ्चल होटल व्यवसायी सङ्घ, पोखराका अध्यक्ष विकल तुलाचनले लकडाउनको कारण सबैभन्दा बढी मारमा होटल व्यवसायी परेको बताए। कोभिडको समस्या भए तापनि स्वास्थ्य सुरक्षा अपनाउँदा पोखराको होटल व्यवसायमा वृद्धि भएको बताए। पोखरामा हाल ७ सयभन्दा बढी होटल रहेको र त्यहाँ पिसिआर, क्वारेन्टाइन, भौतिक दूरी, मास्क, सेनिटाइजरको व्यवस्थापन गरी पर्यटकहरूलाई आउन जान सहजीकरण गरेको उनले बताए।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, भिजिट मधेस अभियानका ओमप्रकाश सर्राफ, वीरगंज होटल व्यवसायी सङ्घका प्रतिनिधि तबरेज अहमद, हरि गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए।