प्रस, वीरगंज, २३ मङ्सिर/
प्रदेश सरकार मातहत रहेका पर्सा जिल्लाका सरकारी कार्यालयहरूमा विवादका कारण सेवाग्राहीहरू मारमा परेका छन्।
सरकारी कार्यालयहरूमा देखिएको विवादको कारण बर्सेनि करोडौं रुपैयाँको बजेट फ्रिज हुनुका साथै अधिकांश योजना अलपत्र अवस्थामा छन् भने काम सम्पन्न नभए पनि भुक्तानी दिने गरेको पाइएको छ। अधिकांश कार्यालयमा कार्यालय प्रमुख बन्ने विषयमा विवाद देखिएको छ। कसलाई कार्यालय प्रमुख बनाउने सम्बन्धमा सम्बन्धित मन्त्रालयले नै झगडा लगाउने गरेको छ।
कृषि ज्ञान केन्द्र, पर्साका तत्कालीन कार्यालय प्रमुख डा रामचन्द्र यादवले कर्मचारीहरूले सहयोग गरेनन् भन्दै गत वर्ष १४ करोड रुपैयाँ फ्रिज गराएका थिए। किसानहरूको लागि प्रदेश सरकारले पठाएको अनुदानका सामानहरू पनि फिर्ता भए। त्यसपछि चालू आवमा उनको सरुवा भयो। तर उनी जान मानेका छैनन्। उनको ठाउँमा प्रदेश सरकारले कसैलाई पनि प्रमुख बनाएर पठाएको छैन। कार्यालयको कामकाज निमित्त प्रमुखको भरमा चलिरहेको छ। यादवले सरकारी गाडी, ल्यापटपलगायत सामानहरू प्रयोग गरिरहेका छन्। उनी एक महीनादेखि कार्यालयमा पनि आएका छैनन्। उनले गत वर्ष भएको कामको भुक्तानीसमेत दिएका छैनन्। निमित्त कार्यालय प्रमुखलाई प्रमुखको जिम्मेवारी तोकेर चालू आवमा काम सम्पन्न गर्ने मन्त्रालयका केही कर्मचारीहरू लागिपरेका छन्।
शहरी भवनको कार्यालयमा पनि प्रमुखको विषयलाई लिएर विवाद छ। कार्यालय प्रमुख सरोज गोइतको सरुवा भइसकेको छ। निमित्तमा सोही कार्यालयका इन्जिनीयर राजेन्द्र साह छन्। तर गोइतकै कब्जामा क्वाटर छ। उनी क्वाटरमा छैनन् तर पत्नीले क्वाटर छाडेकी छैनन्। कर्मचारीहरूले गोइत वीरगंजबाहिर बसिरहेको र पत्नी भने क्वाटरमा बसिरहेको बताएका छन्।
गोइतले आफूभन्दा जुनियरलाई कार्यालय प्रमुख बनाएको भनी असन्तुष्टि जनाएर वीरगंज नछाडेको थाहा हुन आएको छ। सम्बन्धित मन्त्रालयका केही कर्मचारी गोइतलाई कार्यालय प्रमुख बनाउन लबिङमा जुुटेका छन् भने केहीले साहलाई बनाउन दबाब दिइरहेका छन्।
भवन कार्यालयमा प्रमुखको कुरालाई लिएर विवाद भएपनि निर्माणाधीन शहीद स्मारक, तिलावे पुलको काम सम्पन्न नभए पनि भुक्तानी गरिएको छ।
गत आवमा गोइतको सरुवाको हल्ला चलेको थियो। सोही कारण उनले यी योजनालगायत अन्य थुप्रै भुक्तानी गरेको थाहा हुन आएको छ। कमिशनको कारण भुक्तानी गरिएको कर्मचारीहरू नै बताउँछन्।
यातायात कार्यालयमा पनि यस्तै समस्या छ। यातायातको सवारी शाखाको प्रमुखमा जुनियरलाई निमित्त बनाएपछि सो कार्यालयमा पनि विवाद देखिएको छ। धेरै कार्यालयका सिनियरहरूलाई मन्त्रालयमा राखिएको र निमित्तको भरमा कार्यालय सञ्चालन गरिएपछि पर्सा जिल्लामा यस्ता समस्या देखिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here