प्रस, वीरगंज, २६ फागुन/
वीरगंज महानगरपालिका–१० वडा कार्यालयको सहयोग तथा घडीअर्वा स्पोट्र्सको आयोजनामा शनिवारदेखि दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता–२०८० शुरू भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले खेल क्षेत्रको विकासका लागि सरकारको सहयोग अपर्याप्त रहेको बताए । उनले खेल क्षेत्रमा पर्याप्त लगानीविना अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीबाट आशा राख्नु मूर्खता मात्र हुने बताए ।
उनले चार दशक अघि आफू कराँतेको खेलाडी रहेको र पोखरामा छनोट भएर जाँदा तत्कालीन सरकारले दैनिक पचहत्तर रुपैयाँ भत्ता दिने गरेको कुरा स्मरण गरे । उनले वडाध्यक्षले दोस्रोपटक प्रतियोगिता आयोजना गरेर वडाका खेलाडीहरूलाई प्रोत्साहित पारेको बताए । खेलले युवाहरूको जीवन उकास्नुका साथै अनुशासन पालना गर्न सिकाउने बताए ।
वडाध्यक्ष सुशील साह कानूले वडाका युवाहरूलाई खेलमा सक्रिय बनाइराख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । शिक्षाका साथै जीवनमा सकारात्मक सोच वृद्धिका लागि खेलकूद अति आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष अशोक टेमानी, ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख रञ्जीत यादव, वडासदस्य सन्तोष चौलागाईं, क्लबका अध्यक्ष सन्तोष कानूलगायतको सहभागिता थियो ।
प्रतियोगिता अन्तर्गत आज वडासमिति र घडीअर्वा स्पोट्र्स क्लबबीच भएको मैत्रीपूर्ण खेलमा घडीअर्वा स्पोट्र्स क्लब विजयी भएको थियो । निर्धारित १० ओभरको खेलमा वडासमितिले १०० रन बनाएको थियो भने घडीअर्वाले नौ ओभरमा १०१ रन बनाइ विजयी भयो । वडास्तरीय प्रतियोगितामा सातवटा टीम सहभागी छन् ।