प्रस, पोखरिया, २४ फागुन/
कालिकामाई गाउँपालिका कार्यालयमा बिहीवार दादुरा–रुबेला खोप अभियानसम्बन्धी पालिकास्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख योगेन्द्र चौरसियाले दादुरा–रुबेला मानिसको शरीर बाहिर र भित्र जुन पनि भागमा लाग्ने भएकोले यो रोगविरुद्ध देशैभरि खोप अभियान सञ्चालन भइरहेको बताए । विशेषगरी यो रोग नौ महीनादेखि १५ वर्ष उमेर समूहका बालबालिकामा देखा पर्ने भएकोले खोप अभियान शुरू गरिएको बताए ।
कालिकामाई गापामा १० हजार ५०० बालबालिकाहरूलाई यो खोप लगाइने लक्ष्य रहेको उनले बताए । फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने यो अभियानबारे प्रत्येक वडामा टोली परिचालन गरी प्रचारप्रसार गर्न उनले आग्रह गरे ।
यो खोपसँगै पाँच वर्षमुनिका अन्य खोप लगाउन बाँकी रहेका बालबालिकाहरूलाई पनि छुटेका खोप लगाइने चौरसियाले बताए । यो खोप फागुन २७ गतेदेखि पकहामैनपुर, धोबिनी, छिपहरमाईमा पनि सञ्चालन हुन्छ ।
गापाध्यक्ष वशिष्ठकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जयनारायण कुर्मी, ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेन्द्र चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष लालमती देवी, वडाध्यक्ष, बोर्ड सदस्य, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।