नरेश यादव, पर्सागढी, २२ फागुुन/
गर्मीयाम शुरू भएसँगै माछाको मूल्य घट्न शुरू भएको छ । जाडोमा माछाको माग बढी हुने र मूल्य पनि बढेको थियो । पर्सागढीका माछापालक फूलमहमद मियाँले गर्मीयाम शुरू भएसँगै माछाको मूल्य घट्न थालेको बताए ।
उनले जाडोयाममा एक किलो तौलको रहु माछा रु ४०० र दुई किलो तौलको रु ६०० मा बिक्री हुने गरेकामा अहिले रु २६० र रु ३२० मा बिक्री भइरहेको बताए । बिगहेड एक किलो तौलको रु ३८० र दुई किलो तौलको रु ४५० मा बिक्री हुने गरेकामा अहिले रु ३०० मा झरेको बताए ।
यसैगरी, इजरायल एक किलो तौलको रु ३६० मा बिक्री हुने गरेकोमा अहिले रु २७० मा झरेको मियाँले बताए । सिल्भरकार्प रु ३५० बाट रु २६० मा झरेको र भकुरा रु ४०० बाट रु ३०० मा झरेको मियाँले बताए । भकुरा माछा पाँच किलोसम्मको पाइन्छ र यसको मूल्य जाडोमा प्रतिकिलो रु ८०० सम्म पुगेको थियो ।
माछा व्यवसायीहरूको लागि जाडोयाम लाभदायक हुने गरे पनि गर्मीयाम भने त्यतिको लाभदायक नहुने गरेको उनले बताए । गर्मीयाममा लागत मूल्य उठाउन पनि केही किसानहरूलाई समस्या हुने गरेको उनले बताए । सानो पोखरी सञ्चालन गरेका किसानहरूलाई लागत उठाउन समस्या हुने गरेको उनले बताए ।
जाडोयाममा माछा मार्दा माझीहरूलाई ठूलै आम्दानी हुने गर्छ । माझहरूले जाडोयाममा साना पोखरीहरूमा माछा मार्न भ्याउँदैनन् । अहिले गर्मीयाम शुरू भएसँगै जाडोयाममा छाडेका साना पोखरीहरूमा माझीहरूले माछा मार्न शुरू गरेका छन् ।
पर्सा जिल्लामा ५७१.०६ हेक्टर क्षेत्रफलमा जलाशय छ, यसमध्ये वार्षिक ४२९.२९ हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको कृषि ज्ञान केन्द्र, पर्साले जनाएको छ । सो क्ष्Fेत्रफलमा गरिने माछापालनबाट वार्षिक ३१४४.३५ मेट्रिकटन माछा उत्पादन हुने गरेको सो कार्यालयले जनाएको छ ।