प्रस, वीरगंज, २१ मङ्सिर/
राप्रपा संयुक्तले वीरगंजमा प्रदर्शन गर्दै राजसंस्था स्थापनाको माग गरेको छ। वीरगंजको घण्टाघरबाट –याली निकालेर नगरपरिक्रमा गरेको राप्रपा संयुक्तले कालो गणतन्त्र मुर्दाबाद, राजतन्त्र स्थापना गरजस्ता नारा लगाएको थियो।
नगरपरिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा बोल्दै राप्रपा संयुक्तका केन्द्रीय सदस्य रामबहादुर थापाले राजतन्त्र स्थापना गर्नुपर्ने माग गरे। उनले लोकतन्त्र, गणतन्त्रमा लुट, खसोट मात्र भइरहेको, भ्रष्टाचार मौलाएको आरोप लगाउँदै जनचाहना राजतन्त्रको पक्षमा भएको दाबी गरे। राप्रपा संयुक्तका जिल्ला अध्यक्ष जलेश्वर सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गया हजरा पासवान, शम्भु चौरसिया, शान्ति केसी, बाबुलाल शर्मालगायत सहभागी थिए।
यसअघि राप्रपा संयुक्तले जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन बुझाउँदै नेपाल–भारत सीमा खुला गर्न माग गरेको थियो। प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा खुला सीमा बन्द हुँदा दुवैतर्फको बिहेवारी प्रभावित भएको भन्दै अविलम्ब सीमा खुला गर्न माग गरिएको छ।