गाजापट्टी, १५ फागुन/एएफपी
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम सोमवारदेखि शुरू हुन सक्ने बताएका छन् । उक्त सम्झौतामा कैयौं सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौं बन्धकलाई मुक्त गर्न सकिनेछ ।
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबीच मध्यस्थता गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध शुरू भएपछि बन्दी बनाइएका इजरायली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।
सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजरायलले हिरासतमा लिएका कैयौं सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ ।
सोमवार सम्झौता कहिले शुरू हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भने–“अर्को सोमवारसम्म युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजीक छौं, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौं ।”
एक अज्ञात इजरायली अधिकारीले समाचार साइट येनेटलाई ‘दिशा सकारात्मक’ रहेको बताएका छन् ।
फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल–थानी मङ्गलवार पेरिस आउँदैछन् । कतारले हमासका नेताहरूलाई आतिथ्यता प्रदान गर्छ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो ।
कतारका शासकले साँझ ४ बजे (१५०० जिएमटी) एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग भेट्ने कार्यक्रम रहेको र त्यसपछि राजकीय रात्रिभोज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
आधिकारिक कतार समाचार एजेन्सीका अनुसार शेख तमिमले पहिले दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरे र ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासहरूबारे छलफल गरेका थिए ।
कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूरदक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् । यसलाई उनले हमासमाथि ‘पूर्ण जीत’ हासिल गर्नका लागि आवश्यक रहेको बताएका थिए ।
युद्धको करीब पाँच महीनापछि गाजापट्टीका प्रत्येक अन्य शहरी क्षेत्रमा इजरायली स्थलसेना सक्रिय भएका कारण करीब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन् ।
सेनाले इजरायलको युद्ध क्याबिनेटलाई रफाहबाट नागरिकहरूलाई निकाल्ने आफ्नो योजना देखाएको नेतान्याहुको कार्यालयले सोमवार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारे कुनै विवरण जारी गरिएको छैन ।
संयुक्त राष्ट्रसङ्घले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ । सोमवार महासचिव एन्टोनियो गुटेर्रेसले आक्रमणले सहायता कामको कफिनमा अन्तिम किला ठोक्ने चेतावनी दिएका थिए ।
रफाह छिमेकी इजिप्टमार्फत अत्यावश्यक सहायताका लागि महत्वपूर्ण प्रवेशबिन्दु हो । यसलाई गुटेर्रेसले गाजापट्टीका लागि ‘मानवीय सहायता अभियानको मूल’ बनाउने बताएका छन् ।
“नागरिकहरूको हत्या गर्ने, घाइते बनाउने, यातना दिने र अपहरण गर्ने हमासको नियतवश कार्यलाई औचित्यपूर्ण भन्न सकिंदैन भने प्यालेस्टिनी जनताको सामूहिक सजायलाई पनि कसैले उचित ठहर गर्न सक्तैन”–गुटेर्रेसले भने ।
कुनै पनि स्थलगत घूसपैठअघि रफाह पनि इजरायलको हवाई आक्रमणबाट अछूतो बनेको छैन । विस्थापित गाजावासी शरीफ मुअम्मरले शहरमा यस्तै एउटा आक्रमणपछि उनको छोराको शवलाई भग्नावशेषबाट निकालिएको बताए । “यहाँ कोही थिएन, बालबालिका मात्र थिए”–उनले रुँदै भने ।
नेतान्याहुले गाजामा अहिले पनि बन्धकहरूको भाग्य र सरकारविरोधी आन्दोलनबाट बढ्दो सार्वजनिक दबाबको सामना गर्नुपरिरहेको छ । युद्धका कारण इजरायलमा दुईपटक ढिलो भइसकेको नगरपालिका निर्वाचन मङ्गलवार हुँदैछ । निर्वाचनले हमासविरुद्ध इजराइलको झन्डै पाँच महीनाको युद्धमा जनताको मनस्थिति अनुमान लगाउन सकिन्छ । रासस