प्रस, सप्तरी, २० मङ्सिर/
कृषि अनुदानको लागि सप्तरीमा प्रस्ताव दर्ता गर्ने कृषकको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ। कृषि ज्ञान केन्द्रले २१ दिने म्याद राखेर अनुदान सुविधाको लागि किसानसँग प्रस्ताव आह्वान गरेको थियो।
पेश भएका प्रस्तावहरूमा सानो सिंचाइको लागि स्यालो ट्युबवेलमा १ हजार ३ सय, यान्त्रिकीकरण शीर्षकमा ३५०, सेड निर्माणका लागि ११ वटा, तरकारीखेतीमा १ हजार ४ सय गरी जम्मा तीन हजार ६१ वटा प्रस्ताव दर्ता भएको कृषि ज्ञान केन्द्र राजविराजका सूचना अधिकारी दिनेशप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
केन्द्रले ट्याक्टर पावर टेलर एट्याचमेन्टमा ५० प्रतिशत अनुदान, स्वचालितमा ७५ प्रतिशत, कृषि यन्त्रहरूको मर्मत सम्भारको लागि साझेदारी वर्कशपहरूको क्षमता अभिवृद्धिमा ८५ प्रतिशत, बीउ व्यवसायीमा ५० प्रतिशत, खाद्यान्न तथा तरकारी बीउ उत्पादन तथा बजारीकरण प्रवर्धनमा ५० प्रतिशत, मौरी उत्पादन तथा बजारीकरणमा ५० प्रतिशत, कृषि हाटबजार सुदृढीकरणमा ८५ प्रतिशत, फलफूल बिरुवा रोपण तथा पर्यावरणीय संरक्षणमा ५० प्रतिशत, सिंचाइ र कृषि यान्त्रिकीकरणमा ८५ प्रतिशत अनुदानका लागि किसानहरूसँग प्रस्ताव आह्वान गरेको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए।
प्रदेश २ सरकारले यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत विभिन्न १९ वटा कृषि क्षेत्रमा अनुदानको लागि प्रस्ताव आह्वान गरेको थियो। कोभिड–१९ का कारण गत आर्थिक वर्षमा अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न समस्या भएकोले यस समयमैं प्रस्तावना आह्वान गरिएको प्रमुख यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here