हिजोआज अनौठो चक्रवात हेर्न पाइएको छ । यसभन्दा पहिले फट्याङ्ग्राको चक्रवातले नेपाल–भारतमा धेरै क्षति पु-याएको थियो तर हालै भारतको पुणेमा लामखुट्टेको कारण मानिसहरू समस्यामा परेका छन् । मुथा नदीमाथि लामखुट्टेको यस्तो भीड लाग्यो कि मानिसहरू निकै अचम्ममा परेका थिए ।
एकजना इन्डियन एयरफोर्सका पदाधिकारीले यसको भिडियो साझा गर्दै भनेका छन्– यो लामखुट्टेको चक्रवात केशवनगर र खराडी क्षेत्रमा देखिएको थियो । भिडियोमा नदी किनारमा लामखुट्टेको विभिन्न झुन्ड जम्मा भएर निकै माथिसम्म उडेको देखिन्छ । भिडियो भाइरल भएपछि सो क्षेत्रको सरसफाइ गरियो ।
यस्तै, मिल्दोजुल्दो घटना रूस र निकारागुआमा पनि देखिएको थियो । गत वर्ष जून महीनामा निकारागुआको एउटा चर्चित तालमा यस्तै लामखुट्टेको चक्रवात मानिसहरूले देखेका थिए ।